स्थानीय तहको रवैया विरुद्ध पर्साका शिक्षकहरुद्वारा आन्दोलनको घोषणा 

स्थानीय तहको रवैया विरुद्ध पर्साका शिक्षकहरुद्वारा आन्दोलनको घोषणा 

वीरगन्ज, ६ जेठ । नेपाल शिक्षक महासंघले स्थानीय तहहरुले गरेको शिक्षक सरुवाको विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । स्थानीय तहहरुले विद्यालयका प्रधानाध्यापक, शिक्षक, बालविकास शिक्षक तथा विद्यालयका कर्मचारीहरुलाई विभिन्न पूर्वग्रह, दूराग्रह र राजनैतिक आस्था र व्यक्तिगत कुण्ठाको आधारमा भेदभाव गरेको भन्दै त्यसका विरुद्ध आन्दोलनको घोषणा गरेको हो ।

महासंघले आज नेपाल पत्रकार महसंघको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरेर चारबुँदे संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक कार्यक्रम अनुसार जेठ ७ गते आईतबार जिल्लाका सम्पूर्ण विद्यालयहरुमा कार्यरत प्रधानाध्यापक, शिक्षक र कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर विरोध जनाउने, जेठ ८ र ९ गते सोमबार वीरगन्ज महानगरपालिका कार्यालय अगाडि दिउँसो १ बजेदेखि बेलुकी पाँचबजेसम्म धर्ना बस्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

जेठ ९ गते पनि शिक्षक महासंघले राखेको माग सम्बोधन नभए धर्नास्थलबाट संघर्षका कडा भन्दा कडा आन्दोलनको घोषणा गर्ने चेतावनी दिएका छन् । शिक्षा ऐन, संसोधन सहित २०२८ तथा शिक्षा नियमावली (संसोधन सहित) २०५९ कायम नै रहेको अवस्थामा अस्थायी शिक्षक नियुक्त गर्दा नियुक्ति प्रकृयाको सम्बन्धमा नियमावलीको नियम ९६ (क) र ९७ मा स्पष्ट व्यावस्था भएको र शिक्षक सरुवा गर्ने अधिकार शिक्षा नियमावलीको नियम ९९ बमोजिम

जिल्ला शिक्षा अधिकारी अर्थात हालको शिक्षा विकास तथा समन्वय इकाई प्रमुले गर्ने व्यावस्था रहेको र स्थानीय तहले अधिकार नै नभएको क्षेत्रमा हैकमवादी प्रवृत्तिले प्रधानाध्यापकहरको सरुवा, घटुवा, शिक्षक नियुक्ति लगायतका गतिविधि गरेकोले त्यसको विरुद्ध आन्दोलनमा जानुपरेको शिक्षक महासंघका पर्सा अध्यक्ष तीर्थराज यादवले बताउनुभयो । यादवकै अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा विभिन्न शिक्षक संगठनका अध्यक्ष तथा प्रतिनिधि र विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुको उपस्थिति रहेको थियो ।