पर्साको ग्रामीणक्षेत्रमा भेरोसिल खोप लगाउन डराए 

पर्साको ग्रामीणक्षेत्रमा भेरोसिल खोप लगाउन डराए 

वीरगन्ज, ३१ जेठ । कोरोना भाईरस विरुद्धको खोपको शहरमा अभाव र ग्रामीण क्षेत्रमा खोप लगाउनेको संख्या नै कम भएको छ । चीनले अनुदानमा दिएको भेरोसिल खोपको पहिलो चरणमा सरकारले काठमाडौं उपत्यका बाहिरका जिल्लाहरुमा ६२ देखि ६४ बर्ष उमेर समूहका व्यक्तिहरुलाई मात्रै लगाउने भनेको छ ।  पर्साको १४ वटा स्थानीय तह मध्य महानगरपालिकामा बाहेक अन्य स्थानीय तहमा खोप लगाउने लक्षित समूहको संख्या कुनैमा आधा कुनैमा आधा भन्दा कम संख्या रहेका छन् ।

६२ देखि ६४ बर्ष उमेर समूहको खोप लगाउन आउने संख्या न्यून र शहरी क्षेत्रमा भने लक्षित उमेर समूहको संख्या भन्दा अन्य उमेर समूहको समेत खोप लगाउन आउँदा खोप संचालनमा नै समस्या भएको छ ।   ठोरी गाउँपालिकामा ३ सय ५८ जना लक्षित समूहको संख्या रहेकोमा करिब २ सय जनाले मात्रै खोप लगाएका छन् । प्रचार प्रसार गरेको भएपनि केहीले खोप किन लगाउनु प¥यो भन्ने केहीलाई ज्वरो आएको अवस्थामा लगाउन नमिल्ने भएर तथा केही बसाई सराईले संख्या घटेको स्वास्थ्य संयोजक रमेशराज थिङले जानकारी दिए ।  

जीराभवानी गाउँपालिकाका १४५ जनाले मात्रै खोप लगाएका छन् । जगरनाथपुर गाउँपालिकामा ४०० को हाराहारीमा लक्षित उमेर समूह भएपनि १६४ जनाले मात्रै खोप लगाएका छन् । त्यस्तै छिपहरमाई गाउँपालिकामा ४४७ जना लक्षित समूहको संख्या रहेकोमा ६१ जनाले मात्रै खोप लगाएका छन् । धोविनी गाउँपालिकामा ३४१ जना लक्षित संख्या रहेकोमा ४८ जनाले, पकाहामैनपुरमा ५७ जनाले मात्रै लगाएका छन् । 

 त्यसैगरी ४१० लक्षित उमेर समूहको संख्या रहेको विन्दवासिनीमा १९८ जनाले मात्रै खोप लगाएका छन् । बहुदरामाई नगरपालिकामा ६६१ जना लक्षित उमेर समूहको संख्या मध्य ३३० जनाले लगाएका छन् । ६५३ लक्षित समूह रहेको पर्सागढी नगरपालिकामा ३१५ जनाले मात्रै खोप लगाएका छन् ।  अन्तरव्यक्ति सञ्चार, महिला स्वयंसेविकाहरु मार्फतबाट पनि सूचना प्रवाह गरेको भएपनि ग्रामीण क्षेत्रमा भने चीनबाट ल्याएको खोपको समाजमा गलत धारणाको भ्रम सृजना गरिएका कारण खोप लगाउन डराएर नआउदा संख्या कम भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत अनिल सिंहको भनाई छ । 

 उहाँका अनुसार पर्सामा राष्ट्रिय जनगणना २०६८ को तथ्यांक अनुसार १२ हजार जति ६२ देखि ६४ बर्ष उमेर समूहको लक्षित संख्या रहेकोमा १० हजार ८ सय ३० डोज मात्रै खोप उपलब्ध भएको छ । ग्रामीण क्षेत्रमा लक्षित समूहले खोप लगाउन नमान्दा र महानगरमा भने खोप लगाउन अन्य उमेर समूहको समेत भीड हुँदा खोप वितरणको सन्ुतलन नै विग्रिएको छ । 

 चीनबाट ल्याइएको खोपको बारेमा नागरिकको नकारात्मक बुझाई, गतल धारणाका कारणले र ग्रामीण क्षेत्रका अधिकांश गाउँपालिकामा चिनयाँ खोप काम गर्दैन भनेर भ्रम फैलाईएका कारण खोप लगाउन डराएर नआएको गाउँपालिकाका स्वास्थ्य संयोजकहरुले बताएका छन् । पर्सामा भेरोसीलेको पहिलो डोज सोमबार सम्ममा ४ हजार  ५ सय ५४ जनालाई खोप लगाईएको छ । यो कूल खोप लगाउनु पर्ने संख्याको ३७%  रहेको खोप अधिकृत सिंहको भनाई छ ।