वीरगन्जमा कोरोना संक्रमण दर १८ प्रतिशतमा झ¥यो, जोखिम कायम नै रहेकोले निषेधाज्ञा हट्ने सम्भावना कम 

वीरगन्जमा कोरोना संक्रमण दर १८ प्रतिशतमा झ¥यो, जोखिम कायम नै रहेकोले निषेधाज्ञा  हट्ने सम्भावना कम 

वीरगन्ज, १९ जेठ । वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा हुदै आएको कोरोनाको परिक्षणमा एक साता यता संक्रमण दर र संक्रमितको संख्या  निरन्तर कम हुदै गएको देखिएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गएराति गरिएको परीक्षणमा २० जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ । पर्साबाट संकलन गरिएको १९२ नमूना स्वाबको पीसीआर परीक्षण गर्दा पर्साका ८ जना सहित २० जनामा मात्रै संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्य बाराका ६ जना रौतहटका ५ जना र सप्तरीका १ जना रहेको नारायणी अस्तालका कोभिड सम्पर्क व्यक्ति डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो । उहाँका अनुसार जेठ ११ गतेदेखि गएरातिसम्म एक हजार २ सय ७५ स्वाब नमूनाको पीसीआर परीक्षण गर्दा २३० जनामा संक्रमण पुष्टि भएको छ । वीरगन्जमा बैशाख दोश्रो र तेश्रो साता ७० देखि ७५ प्रतिशत पुगेको संक्रमण दर बैशाख अन्तिम साता देखि घट्दै गएर अहिले १८ प्रतिशतमा झरेको छ । जेठ १४ गतेदेखि यता भने पर्सामा दैनिक २० भन्दा कम संख्यामा संक्रमति थपिएका छन् । अस्ती पनि नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा १८ जनामा मात्र संक्रमण पुष्टि भएको थियो ।

जेठ ११ गते २८२ को परिक्षण गर्दा ६० जनामा, जेठ १२ गते १९२ जनाको परिक्षण गर्दा ४० जनामा, जेठ १३ गते १७७ जनाको परिक्षण गर्दा ४२ जनामा , जेड १४ गते ८० जनाको परिक्षण गर्दा १४ जनामा, जेठ १५ गते ७७ जनाको परिक्षण गर्दा ११ जनामा, जेठ १६ गते १८३ जनाको परिक्षण गर्दा २५ जनामा, जेठ १७ गते ९२ जनाको परिक्षण गर्दा १८ जनामा र मंगलबार राति १९२ स्वाबको पीसीआर परीक्षणमा २० जनामा मात्र संक्रमण पुष्टि भएको छ ।

दुईदिन मौसम खराबका कारणले परीक्षण गराउन आउनेहरु कम हुँदा संक्रमितको संख्या घटेको अनुमान गरिएपनि मौसममा सुधार आएपछि गरिएको १९२ जनाको परीक्षणमा २० जनामा मात्रै संक्रमण देखिनु सुधारको संकेत रहेको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताउनुभयो । उहाँका अनुसार अस्पतालहरुमा अहिले बिरामीहरु ६० प्रतिशत घटेको छ । एक हजार भन्दा माथि सक्रिय संक्रमितहरु छन् । ग्रामीण क्षेत्रमा संक्रमण फैलिएकोले स्थानीय पालिकाहरुले परीक्षणको दायरा बढाउनुपर्ने प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाई छ ।

संक्रमण नियन्त्रण र रोकथामका लागि जारी निषेधाज्ञा भने अहिले नै नहट्ने पनि प्रमुख जिल्ला अधिकारी घिमिरेले संकेत गर्नुभएको छ । पछिल्लो पटक जेठ ३ गतेदेखि थप गरेको निषेधाज्ञाको समय बुधबार मध्यरातमा सकिदै छ । जारी निषेधाज्ञामा पनि विकास निर्माणका कामहरु जारी नै रहेको र उपभोग्य वस्तुहरुको पनि सहज उपलब्ध हुने गरी व्यावस्था मिलाईएकोले संक्रमण दर अझ कम गर्न केही दिन निषेधज्ञा जारी रहन सक्ने सम्भावना रहेको उहाँको भनाई छ । यद्यपि बुधबार जिल्ला कोभिड संकट व्यावस्थापन केन्द्रको बैठक बस्ने भएको र बैठकको सिफारिस अनुसार नै निर्णय गरिने उहाँले बताउनुभयो ।