होलीमा ९२ मोटरसाईकल सहित २१ जना पक्राउ, झगडा गर्नेहरुलाई अभद्र व्यवहारको मुद्दा लगाईने
वीरगन्ज, ५ चैत्र । पर्सामा होली पर्वमा अवाञ्छित गतिविधि गर्ने २१ जना व्यक्ति सहित ९२ वटा मोटरसाईकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । होलीमा मापसे गरेर ट्राफिक नियमको उल्लंघन गरी जथाभावी चलाएका ९२ वटा सवारी साधन नियन्त्रणमा लिएको हो ।
त्यस्तै मदिरा सेवन गरेर झगडा गर्ने २१ जनाईपनि विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो ।
पक्राउ परेका मध्य मापसे गरेर सवारी साधन चलाउनेहरुलाई जरिवाना गराई सचेत गराएर छाडिने र पूरानो रिसवीले चोटपटक समेत लाग्ने गरी झगडा गर्नेहरुलाई भने अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता गर्ने तयारी गरिएको प्रहरी नायव उपरीक्षक खनालले बताउनुभयो ।
चोटपटक समेत लाग्ने गरी झगडा गर्नेहरुको प्रहरीले अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । त्यस्तै होली पर्वमा मासुको बढी मूल्य लिएका नौजना मासु व्यवसायीहरुलाई पनि पक्राउ गरेको थियो । उनीहरुलाई भने आईन्दा त्यस्तो नगर्ने शर्तमा सम्बन्धित व्यक्तिको जिम्मामा छाडिएको प्रहरी नायव उपरीक्षक खनालले बताउनुभयो ।