३६० जना ज्येष्ठ नागरिकलाई सम्मान, २२५ जनाको निःशुल्क आँखा परीक्षण 

३६० जना ज्येष्ठ नागरिकलाई सम्मान, २२५ जनाको निःशुल्क आँखा परीक्षण 

वीरगन्ज, ३२ जेठ । आज जुन १५ तारीख, बिश्व जेष्ठ नागरिक दुर्ववहार बिरुद्धको दिवस मनाईदै छ । जेष्ठ नागरिक दुर्ववहार बिरुद्धको दिवसको अवसरमा आज वीरगन्ज महानगरपालिका वडा नम्बर २ मा ज्येष्ठ नागरिक सम्मान र सामुदायिक सेवा केन्द्र छपकैयामा अन्तरकृयाको आयोजना गरिएको छ ।

वडा नम्बर २ का वडा समितिले आयोजना गरेको ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा वडाका ३६० जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि वडा न.२ का कार्यवाहक वडा अध्यक्ष संगीता थापाले ज्येष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो । उहाँले ज्येष्ठ नागरिकलाई दुव्र्यवहार विरुद्धको दिवस पारेर यसबर्षदेखि ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्न थालिएको र यसलाई निरन्तरता दिने प्रतिवद्धता पनि जनाउनुभयो । 

यसैबीच सामुदायिक सेवा केन्द्र, छपकैयाले अन्तरकृयाको आयोजना गरेको छ । कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर २ की कार्यवाहक वडा अध्यक्ष संगीता थापाले ज्येष्ठ नागरिक समाजका धरोहर रहेकोले उहाँहरुको सम्मान र संरक्षण आवश्यक रहेको बताउनुभयो ।

नागरिकले पाउनु पर्ने हक, अधिकार सबैलाई जानकारी हुनु जरुरी रहेको बताउदै उहाँले कुनै घरपरिवार वा समाजबाट ज्येष्ठ नागरिकहरुमाथि दुव्र्यवहार भए त्यसको विरुद्ध सामुदायिक सेवा केन्द्र, वडा समितिको कार्यालय एवं नजिकको प्रहरी चौकिमा उजुरी गर्न आग्रह गर्नुभयो । सेवा केन्द्रका अध्यक्ष हाजी ग्यासुद्दीन ठकुराईले हरेक सरकारी कार्यालय, बैंक, बित्तीय संस्था र सार्वजनिक स्थलमा ज्येष्ठ नागरिकलाई छुट्टै सम्मानजनक व्यवहार गर्नुपर्ने बताउनुभयो ।

उहाँहरुलाई छिटो छरितो काम गर्न जेष्ठ नागरिक सहायता कक्षको पनि व्यवस्था हुनुपर्ने पनि बताउनुभयो । सार्वजनिक यातायातमा जेष्ठ नागरिकको लागि छुट्टै सिटको व्यवस्था गरिएपनि त्यसको व्यवहारमा कार्यान्वन हुन नसकेको र सिटको व्यावस्था मात्रै नभई निःशुल्क यात्राको व्यवस्था सरकारले गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा वडा न.२ का दलित महिला सदस्य रम्भा देबि, सामुदायिक सेवा केन्द्र छपकैया–२ का सचिव प्रबीण बिक्रम शाह, सदस्य सीता प्रसाईं, अजित भुजेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन सामुदायिक सेवा केन्द्र छपकैया–२ का सदस्य मो. अब्दुल कैसले गर्नु भएको थियो ।

यस्तै वीरगन्ज सामुदायिक आँखा अस्पताल र ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा आज निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ ।

आज बिहान आदर्शनगर स्थित ग्रिनसिटी सामुदायिक सेवा केन्द्रमा आयोजना गरिएको शिविरमा ७५ जना महिला र १५० जना पुरुष गरी २२५ जनाको निःशुल्क आँखा परिक्षण गरिनुका साथै औषधि समेत वितरण गरिएको अस्पतालका मेडिकल कोअर्डिनेटर महेश सिंह धामीले जानकारी दिनुभयो ।

शिविरमा अस्पतालका अप्टोम प्रभात चौरसिया,  एञ्जिला मेहेता र पवन धामीले प्राविधिक सहयोग गरेका थिए । सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज महानगरपालिकाका सरसफाई अधिकृत सरफुद्दिन मियाँ, प्रहरी चौकी आदर्शनगरका प्रहरी नायव निरीक्षक सत्यप्रकाश त्रिपाठी, सामुदायिक सेवा केन्द्रका सचिव मुरली जालान लगायतको उपस्थिति रहेको थियो ।