वीरगन्जमा संक्रमितको संख्या कम हुदै, १९२ को परीक्षणमा ९६ जनामा संक्रमण पुष्टि
वीरगन्ज, २६ बैशाख । कोरोना भाईरस संक्रमण तीव्र रुप फैलिएको वीरगन्जमा संक्रमितको संख्या कम हुदैछ । निषेधाज्ञाको ११ दिनपछि बल्ल वीरगन्जमा संक्रमितको संख्या कम भएको हो । शनिबार राति वीरगन्जमा ९६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
कोरोनाको दोश्रो लहर शुरु भएपछि बैशाख महिनाको हिजो सम्ममा वीरगन्जमा २ हजार ५ सय भन्दा बढी संक्रमित रहेकोमा शनिबार राति ८५ जना नयाँ संक्रमित थपिएका हुन् । नारायणी अस्पतालको प्रयोगशालामा १९२ जनाको परीक्षण गर्दा ९६ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोजरोशन दासले जानकारी दिनुभयो ।
७० जनाको पीसीआर र २६ जनाको एन्टिजेनबाट कोरोना पोजिटिभ देखिएको उहाँले बताउनुभयो । उहाँका अनुसार ६० जना पुरुष र २५ जना महिला संक्रमित मध्य पर्सा, बारा, रौतहट र सर्लाहीका रहेका छन् । यो सँगै वीरगन्जमा संक्रमितको संख्या २ हजार ६ सय ३२ पुगेको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा बैशाख १ गते देखि बैशाख २५ गते राति सम्ममा ४ हजार ३ सय ५४ जनाको परिक्षण गर्दा ती मध्ये २ हजार ६ सय ३२ जनामा संक्रमण भेटिएको डाक्टर दासले जानकारी दिनुभयो ।