बाराका सिडिओले जोगाउन खोजेको अवैध संरचना उपमहानगरपालिकाले भत्काएर छाड्यो

बाराका सिडिओले जोगाउन खोजेको अवैध संरचना उपमहानगरपालिकाले भत्काएर छाड्यो

वीरगन्ज, १७ बैशाख । जीतपुरसिमरा उपमहानगरपालिकाले जीतपुर गौशालाको अवैध संरचना भत्काएको छ । भूमाफियाले कब्जा गरेको जीतपुर गौशालाको अबैध संरचना हटाउँन खोज्दा त्यहाँ रहेको गाँईको बाहनामा धार्मिक द्वन्द्व गर्न खोजेपछि जीतपुर गौशालाको गाँईको पालनपोषण र रेखदेखको जिम्मेवारी उपमहानगरपालिकाले लिने भन्दै अवैध संरचना भत्काएको हो ।

गाईको पालनपोषण र रेखदेख आफैँ गर्ने भन्दै जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत हरिलाल पुरीले एक सुचना जारी गरी गाँईको पालनपोषण र रेखदेखमा खटिएका कर्मचारीहरुलाई पनि दैनिक ज्यालादारीमा भर्ना गरी न्युक्ति दिने जानकारी दिनुभयो । उहाँले गाँईको पालनपोषण र रेखदेखमा खटिएका कर्मचारीहरुलाई उपमहानगरपालिकाको कार्यालयमा सम्पर्क गरी यथाशिघ्र दैनिक ज्यालादारीको न्युक्ति लिन अनुरोध गर्नुभएको छ ।

गौशालाको विषयमा बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा सार्वजनिक जग्गामा बनाईएका अवैध संरचना जोगाउने पक्षमा देखिएपछि उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले गौशालाको गाई उपमहानगरपालिकाले नै पालन गर्ने र त्यहाँका कर्मचारीलाई पनि भर्ना गर्ने निर्णय गरेपछि प्रमुख जिल्ला अधिकारी सापकोटाको स्वार्थ बाँझिने संरक्षण काम नलाग्ने भएको छ ।

अदालतले जीतपुर सिमरा उपमहानगरपालिकाको पक्षमा फैसला गरेपछि अनाधिकृत संरचना भत्काउन खोज्दा बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले अवरोध गरेका थिए । न्यायालयको फैसला र स्थानीय सरकार सञ्चारन ऐन २०७४ समेतको उल्लंघन हुनेगरी प्रमुख जिल्ला अधिकारी सापकोटाले हस्तक्षेप गरेपछि जीतपुरसिमरा उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय बाराबीच द्वन्द्व बढेको छ ।

यसविषयमा बाराका प्रमुख जिल्ला अधिकारी सापकोटासँग प्रतिक्रिया लिनका लागि सम्पर्क गर्दा आफू कार्यक्रममा रहेको भन्दै प्रतिक्रिया दिन समेत मानेनन् ।