वीरगन्ज महानगरपालिकाले पनि एन्टिजेनबाट कोरोना परीक्षण गर्ने

वीरगन्ज महानगरपालिकाले पनि एन्टिजेनबाट कोरोना परीक्षण गर्ने

वीरगन्ज, २६ बैशाख । वीरगन्ज महानगरपालिकाले पनि अब एन्टिजेन परीक्षण गर्ने भएको छ । वीरगन्ज महानगरपालिकाले संकलन गरेको स्वाबको पीसीआर परीक्षणको रिपोर्ट आउन ढिलाई भएपछि महानगरपालिकाले पनि एन्टीजेन विधिबाट परीक्षण गर्ने भएको हो ।

कोरोनाको संक्रमण दर उच्च भएपछि पीसीआर परीक्षण गराउनेहरुको चाप नारायणी अस्पतालमा बढेको र वीरगन्ज महानगरपालिकाले अस्पतालमा स्वाब दिन जानेहरुको चाप घटाउन पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न सुरु गरेको छ । तर, महानगरपालिकाले संकलन गरेको स्वाब नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गरेर रिपोर्ट दिन ढिलो गरेपछि महानगरपालिकाले असन्तुष्टि जनाएको छ ।

संकलन गरिएको स्वाब लिएर जाँदा प्रयोगशालाका कर्मचारीहरुले समेत परीक्षणमा ढिलो गरेपछि महानगरका कर्मचारी र प्रयोगशालाका कर्मचारीबीच शनिबार राति विवाद समेत भएको थियो । शुक्रबार अस्तीदेखि महानगरपालिकाले स्वाब संकलन शुरु गरेको हो । संकलित स्वाब पीसीआर परीक्षणका लागि लिएर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्न ढिलो गरेपछि महानगरपालिकाका पीसीआर परीक्षणमा वेवास्ता गरेको गुनासो वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीलाई आएको थियो ।

उहाँले नारायणी अस्पतालको प्रयोगशालाका कर्मचारीहरुबाट बदमासी भएको र यस विषयमा प्रमुख जिल्ला अधिकारी पिताम्बर अधिकारीलाई जानकारी गराएपछि जिल्ला प्रशासन कार्यालयमा आईतबार प्रयोगशालाका प्रमुखलाई बोलाएर प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले त्यसको व्यावस्थापनका लागि निर्देशन दिएको बताउनुभयो उहाँले महानगरपालिकाले पनि अब एन्टिजेन विधिबाट परीक्षण शुरु गर्ने बताउनुभयो ।


रिपोर्टमा ढिलाई गरेपछि महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले प्रमुख जिल्ला अधिकारीसँग असन्तुष्टि जनाउनु भएको थियो । त्यसपछि महानगरप्रमुख, प्रमुख जिल्ला अधिकारी र अस्पतालका प्रमुख सहितको उपस्थितिमा भएको छलफलमा महानगरपालिकाले पनि एन्टिजेन परीक्षण गर्ने निर्णय भएको मेसु डाक्टर सञ्जय ठाकुरले बताउनुभयो । महानगरपालिकाले आफैले पनि एन्टिजेन खरिद गर्ने तथा नारायणी अस्पतालले पनि महानगरपालिकालाई एन्टिजेन उपलब्ध गराएर परीक्षण गरिने बताउनुभयो ।