बजेट कार्यान्वयनमा सरोकारवालाहरुको जोड
वीरगन्ज, १० असार । सरकारले ल्याउने बजेटमा कार्यान्वयन पक्ष फितलो हुँदा देशको विकास नभएको सरोकारवालाहरुले बताएका छन् । संघीयतापछिको ७६१ वटा सरकारले बजेट ल्याउँदा खर्चिलो भएपनि प्रभावकारी नदेखिएको डा. दिपेन्द्र कुमार चौधरीले बताउनुभयो ।
राज्यपुर्नसंरचना अघि सरकारले ल्याउने एउटै बजेट भएपनि अहिले ७ सय ६१ वटा बजेट ल्याउन सोही अनुसारको जनशक्ति परिचालन गर्नु परेको कारण खर्च बढेको डा. चौधरीको विश्लेषण छ । अव्यावहारिक शिक्षा प्रणालीका कारण बढेको बेरोजगारीले गर्दा ४५ प्रतिशतको कमाईमा शतप्रतिशत आश्रित हुनुपर्ने बाध्यताले देशमा परिवर्तन हुन नसकेको बताउनुभयो ।
उत्पादनलाई जोड दिएर आत्मनिर्भर बनाउन ‘मेक ईन नेपाल र मेड ईन नेपाल’ नारा ल्याएपनि राज्यका निकायले नै स्वदेशी उत्पादनलाई प्राथामिकता नदिएको बताउनुभयो । असारे बिकासलाई कम गर्नका लागि हरेक महिना खर्च गर्नुपर्ने रकमको दायरा निर्धारण गर्नुपर्ने सुझाव पनि दिनुभयो ।
खर्चलाई मितव्ययी बनाउँदै व्यावहारिकतालाई आत्मसाथ गरेर बजेट बनाउनुुपर्ने वीरगञ्ज उद्योग वाणिज्य संघका प्रशासन प्रमुख मनोज उपाध्यायको धारणा छ । देशैभरका स्थानीय तहले युवा लक्षित बजेट ल्याउनुपर्ने बताउँदै युवालाई उद्यमशिलतातर्फ आकर्षण गर्ने र टिकाउने योजना बनाउनुपर्ने बताउदै ग्रामिण अर्थतन्त्रको उन्यनका लागि कृषिलाई व्यावसायीकरण गर्नुपर्ने बताउनुभयो ।
कृषिलाई व्यावसायीकरण भनिएपनि सम्पर्क एवम् सम्बन्धका आधारमा सहुलियत र अनुदान पाउने तर वास्तविक किसानले केही नपाउने प्रवृतत्तको अन्त्य हुनुपर्ने उहाँले बताउनुभयो । युवा व्यावसायी निरज रुंगटाले सरकारले ल्याउने बजेटको प्रभावकारी कार्यान्वयन नहुँदा विकास हुन नसकेको र बजेट खेर गएको बताउनुभयो ।
उहाँले बजेटको प्रभावकारी कार्यान्वनयनका लागि सरोकारवालाहरुले पनि खबरदारी गर्नुपर्ने बताउनुभयो । वीरगन्ज महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानुले बजेटको विषयमा जनप्रतिनिधिहरुलाई पनि खर्च गर्ने चासो कम हुने गरेको बताउनुभयो ।
उहाँले निर्वाचित जनप्रतिनिधिहरुले बजेटलाई प्राथामिकताको आधारमा चासो लिएर खर्च गरे विकास हुने दावी गर्दै जनप्रतिनिधिहरुले चासो कम दिँदा विनियोजित बजेट समेकत खर्च हुन नसकेको बताउनुभयो । हाम्रो अभियान पर्साको आयोजना र आर्थिक पत्रकार संघ (इरा) पर्साको संयोजनमा भएकोे
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले आ–आफ्नो विचार व्यक्त गरेका थिए । कार्यक्रम आर्थिक पत्रकार संघ पर्साका संयोजक ओमप्रकाश खनालको अध्यक्षता र हाम्रो अभियान पर्साका संयोजक शिवनाथ यादवको सहजीकरणमा सम्पन्न भएको थियो ।