स्थायी सत्ता इमान्दार भए सुशासन आउछ : मुख्यमन्त्री राउत

स्थायी सत्ता इमान्दार भए सुशासन आउछ : मुख्यमन्त्री राउत

जनकपुरधाम, असोज ४ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा सुशासन कायम गर्न स्थायी सत्ता इमान्दार हुनु आवश्यक रहेको बताउनु भएको छ ।

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्तर्गत प्रादेशिक सुशासन केन्द्रले बर्दिवासमा आयोजना गरेको स्थानीय तहको संस्थागत स्वमुल्यांकन सम्बन्धि समिक्षा एवं अनुशिक्षण कार्यक्रमलाई समुदघाटन गर्नु हुँदै मुख्यमन्त्री राउतले सो कुरा बताउनु भएको हो ।

कर्मचारी तन्त्रको सहयोग विना अनियमितता हुनै नसक्ने बताउनु हँुदै मुख्यमन्त्री राउतले जनप्रतिनिधिलाई नियम कानून बुझाउने जिम्मा समेत स्थायी सत्ता अर्थात कर्मचारीहरुकै रहेको उल्लेख गर्नुभयो ।

सुशासन कायम गर्ने पहिलो खुडकिलो स्वमुल्यांकन रहेको उल्लेख गर्नु हुँदै उहाँले स्वमुल्यांकन लाई प्राथमिकतामा राख्न स्थानीय तहका प्रशासकीय अधिकृतहरुलाई निर्देशन समेत दिनु भयो । जनप्रतिनिधिहरु एउटा निश्चित अवधी मात्र रहने तर कर्मचारी हरु लामो समय रहनेृ भएको हुनाले सुशासन कायम गराउने ठुलो दायित्व कर्मचारीहरुकै काँधमा रहेको बताउनु भयो ।

प्रदेशमा भ्रष्टाचार अन्तको लागी जनलोकपाल आयोग गठन भै सकेको जानकारी गराउनु हँुदै मुख्यमन्त्री राउतले अनियमितता गर्ने जो कोहीलाई पनि कारबाही गर्ने अधिकारी आयोगको रहेको हुँदा सचेत रहन आग्रह समेत गर्नु भयो ।

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका प्रादेशिक निर्देशक एवं मुख्यमन्त्री कार्यालयका सचिव यम प्रसाद भुषालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख सचिव हरिप्रसाद मैनाली, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सह सचिव वसन्त अधिकारी, मुख्यमन्त्री कार्यालयका सचिव विष्णु ढकाल सहितको उपस्थिति रहेको थियो ।