‘तन्नेरीसँग मेयर’ कार्यक्रम प्रसौनीमा 

‘तन्नेरीसँग मेयर’ कार्यक्रम प्रसौनीमा 

वीरगन्ज, १४ चैत । जनप्रतिनिधिहरुलाई जवाफदेही बनाउनका लागि क्रियाशील हाम्रो अभियानले बाराको प्रसौनी गाउँपालिकामा ‘तन्नेरीसँग मेयर’ कार्यक्रम सम्पन्न गरेको छ । यसअघि ‘तन्नेरीसँग मन्त्रीज्यू’ कार्यक्रम वीरगन्जमा सम्पन्न गरेको अभियानले मंगलबार बाराको प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद प्रसाद जयसवालसँग तन्नेरीहरुलाई राखेर सवाल जवाफ गराएको छ ।

कार्यक्रममा उपस्थित तन्नेरीहरुले प्रसौनी गाउँपालिकाले अध्यक्ष पाएको करिब ९ महिनामा गरेका राम्रा कामहरु के–के हुन् ? स्थानीय युवाहरुको रोजगारका निम्ति पालिकाले के गर्दैछ ? शिक्षा सुधारका लागी पालिकाको के कस्तो योजना छ ? लगायतका प्रश्न गरेका थिए ।

प्रश्नको जवाफ दिदै गाउँपालिका अध्यक्ष जयसवालले विगतमा बाँकी रहेका अधुरा विकासका काममा मात्र अहिले आफु केन्द्रित रहेको बताउनुभयो । उहाँले आफू पालिकाको अध्यक्ष भएपछि अहिलेसम्म पुरानै योजनाका बाँकी रहेका काममा अल्झिनु परेको बताउनुभयो । गाउँपालिका अध्यक्ष जयसवालले चुनावताका जनताका अपेक्षा र चाहना अनुरुप आफूले विभिन्न वाचा गरेपनि पद र जिम्मेवारी पाएपनि काम गर्न भने विभिन्न प्राविधिक कठिनाई भएको बताउनुभयो ।

चुनावताका आफूले जनतालाई वाचा गरे अनुसारको योजना बनाउन कार्यपालिकामा बहुमत नपुग्ने गुनासो गर्नुभयो । बहुमत अपुगको कारण गाउँसभा गर्न दुई महिना ढिला भएको बताउँदै धेरै योजना अलपत्र परेको उहाँले बताउनुभयो । अध्यक्ष जयसवालले आफू अहिले भौतिक विकासको काम अग्रसर रहेको बताउनुभयो ।

जनतालाई नाला र दलित समुदायलाई आवासको ठूलो समस्या रहेको बताउदै यसको समाधानका निम्ति आफू तल्लिन रहेको दाबी गर्नुभयो । ‘गुनासो होइन प्रश्न गरौं’ भन्ने नाराका साथ जनप्रतिनिधिलाई जवाफदेहिता बनाउन हाम्रो अभियान, पर्साले बाराको प्रसौनीमा आयोजना गरेको तन्नेरीसँग मेयर कार्यक्रमको सहजीकरण हाम्रो अभियानका अध्यक्ष शिवनाथ यादवले सहजिकरण गर्नुभएको थियो ।