वीरगन्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्ण एकघण्टा कार्यकक्षमै थुनिए
वीरगन्ज, ६ असार । विभिन्न पार्टी निकट विद्यार्थी संगठनले वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासान महाशाखा प्रमुख अरविन्दलाल कर्णलाई आइतबार कार्यकक्षामै एक घण्टा थुनेका छन् । संघर्ष समितिका संयोजक विकास तिवारीको नेतृत्वमा गएको विद्यार्थीको टोलीले कर्णलाई कार्यकक्षमा थुनेका हुन् ।
केहीदिन अघि संयुक्त विद्यार्थी संघर्ष समितिले भौतिक रुपमा विद्यालय संचालन गर्ने मापदण्डका बारेमा प्रष्ट पार्नु पर्ने, विद्यार्थीका विषयमा कुनै पनि निर्णय गर्दा आफुहरुलाई पनि संलग्न गराइनु पर्ने लगायतका माग राख्दै शिक्षा महाशाखा प्रमुखको ध्यानाकर्षण गराएका थिए ।
तर, विद्यार्थी संगठनहरुलाई समेत बाईपास गरेर आवश्यक तयारी विनै नगरक्षेत्रको विद्यालय संचालन गराउन खोजेको भन्दै उनीहरुले शिक्षा महाशाखा प्रमुख कर्णलाई विहान साढे एघार बजे देखी देखि साढे १२ बजे सम्म १ घण्टा कार्यकक्षमै थुनेका हुन् ।
कर्णलाई कार्यकक्षमा थुनेपछि आयोजित कोणसभालाई विद्यार्थी संगठनका नेताहरुले सम्बोधन गर्दै विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै अघि बढ्न स्थानीय सरकारलाई आग्रह गरेका थिए । कार्यक्रमको सहजीकरण संघर्षसमितिका सह संयोजक कविराज पटेलले गर्नु भएको थियो।
विद्यार्थीहरुले महाशाखा प्रमुखको कार्यकक्षमा ताला लगाउँदै शैक्षिक माफिया मुर्दावाद, विद्यार्थीको स्वास्थ्य माथि खेलवाड गर्ने पाइँदैन, नालायक शिक्षा महाशाखा प्रमुख मुर्दावाद लगायतका नारा लगाएका थिए ।