पर्सामा निषेधाज्ञा आंशिक खुकुलो, असार ७ गतेदेखि बिहान १० देखि साँझ ५ बजेसम्म बजार पसल खुल्ने 

पर्सामा निषेधाज्ञा आंशिक खुकुलो, असार ७ गतेदेखि बिहान १० देखि साँझ ५ बजेसम्म बजार पसल खुल्ने 

वीरगन्ज, ६ असार । पर्सामा जारी निषेधाज्ञा आंशिक खुलुकलो बनाएको छ । बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई केही खुकुलो बनाउदै सरकारी कार्यालयहरुबाट समेत सेवा प्रवाह हुनेगरी निषेधाज्ञालाई खुकुलो बनाएको हो । कोरोना महामारीका कारण बन्द रहेको जिल्ला प्रशासन कार्यालय पर्सा लगायतका सरकारी कार्यालयहरु स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउदै असार ७ गते सोमबारदेखि खुल्ने भएको छ।

जिल्लाका स्थानीय तहअनुसार आलोपालो गरेर जिप्रकाले सोमबारदेखि  सेवा प्रवाह गर्ने निर्णय गरेको जिल्लो कोभिड संकट व्यावस्थापन केन्द्रका सदस्य सचिव एवं पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिनुभयो ।  जिल्ला प्रशासन कार्यालयबाट जारी हुने नयाँ नागरिकता, पतिलिपी, राहादानी तथा विभिन्न सिफारिसहरु आलोपालो गरी सञ्चालन हुनेछ ।

सहायक प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार आइतबार र सोमबार जिल्लाको कालिकामाई गाउँपालिका, जगरनाथपुर, ठोरी, पकहा मैनपुर, सखुवा प्रसौनी, छिपहरमाई, जिरा भवानी, धोबिनी र पटेर्वा सुगौली गाउँपालिकाका सेवाग्राहीहरुलाई सेवा प्रदान गरिनेछ। यस्तै मंगलबार र बुधबार बिन्दबासिनी गाउँपालिका, पोखरिया नगरपालिका, पर्सागढी र बहुदरमाई नगरपालिकाका स्थानीयहरुलाई सेवा प्रदान गरिने जिल्ला प्रशासन कार्यालयल जनाएको छ।

यसैगरि हप्ताको बिहीबार र शुक्रबार भने वीरगञ्ज महानगरपालिकाका सेवाग्राहीहरुले जिल्ला प्रशासन कार्यालयबाट सेवा प्राप्त गर्नेछन्। कोरोना महामारीका कारण जिल्लामा जारी गरिएको निषेधाज्ञालाई असार १३ गतेसम्म थप गरिएको भएपनि सोमबारदेखि भने सरकारी कार्यालयहरु खुल्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बजार पसलहरु पनि भीडभाड नगरी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्ने भएको छ । सार्वजनिक सवारी साधन, होटल, पार्टी प्यालेस, विद्यालय, कलेज लगायतका क्षेत्र भने बन्द नै रहने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।