दुर्घटना न्यूनीकरणका लागि साईकलमा स्टिकर टाँस्दै ट्राफिक प्रहरी 

दुर्घटना न्यूनीकरणका लागि साईकलमा स्टिकर टाँस्दै ट्राफिक प्रहरी 

वीरगन्ज, १९ बैशाख । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले साईकलमा स्टिकर टाँस्ने अभियान चलाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले रातको समयमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि स्टिकर टाँस्ने अभियान चलाएको हो ।

वीरगन्जको घण्टाघरमा ग्रामीणक्षेत्रबाट दैनिक ज्यालादारीको काम गर्न साईकलमा आउनेहरुको भीडमा आज ट्राफिक प्रहरीले उनीहरुको साईकलमा स्टिकर टासेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका हवल्दार रामेश्वर यादव र सहायक हवल्दार सुवोध यादवले साईकललाई रोकेर स्टिकर टाँसिदिएका हुँन् ।

साईकल यात्रीहरु आफ्नो गतिमा हिडिरहेको समयमा अध्याँरोमा नदेखिने हुँदा पछाडिबाट सवारी साधनले ठक्कर दिएर दुर्घटना हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि स्टिकर टाँस्ने अभियान चलाएको ट्राफिक प्रहरीले जनाएको छ ।

साईकलमा स्टिकर टाँस्दै व्यवस्थित वीरगन्ज अभियानका संयोजक दीलिपराज कार्कीले अभियान सरहानीय रहेको बताउनुभयो । उहाँले आमसर्वसाधारणलाई ट्राफिक नियमको बारेमा जानकारी नहुने हुँदा स्टिकरसँगै ट्राफिक सचेतनाको पनि आवश्यकता रहेको बताउनुभयो ।

जिल्लामा नयाँ ट्राफिक प्रहरी प्रमुख आएपछि दुईचार दिन ट्राफिक सचेतना अभियान चलाउने गरेपनि त्यसले निरन्तरता पाउन नसक्दा ट्राफिक व्यावस्थापन फितलो हुने गरेको छ ।