पर्साको ठोरीमा पाटे बाघ मृत फेला
वीरगन्ज, १२ बैशाख । पर्साको ठोरीमा पाटे बाघ मृत फेला परेको छ। ठोरी गाउँपालिका वडा नम्बर–३ रामनगर नजिकै एउटा बयस्क पाटेबाघ मृत रामबुद्ध सामुदायिक वन क्षेत्रभित्र शनिवार साँझ फेला परेको हो।
मृत बाघलाई शनिवार राति नै चितवन राष्ट्रिय निकुन्ज प्रशासन कसराले लगेको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बाल कुमार बस्नेतले जानकारी दिनुभयो । सामुदायिक वनभित्र गाईवस्तु चराउन गएका स्थानीयले मृत बाघ देखेपछि निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिलाई खबर गरेका थिए। बाघको मृत्युको कारण भने खुलेको छैन ।
बाघको अवस्था हेर्दा उक्त बाघ पहिलेदेखि नै घाइते भएको हुन सक्ने र सोही कारण मानिसलाई आक्रमण गरेको हुन सक्ने अध्यक्ष बस्नेतको अनुमान छ । गएको बिहीबार बाघको आक्रमणमा परी रामनगरका पुर्ण बहादुर तामाङ घाइते हुनु भएको थियो । सामुदायिक वन क्षेत्रमा नै तामाङलाई बाघले अक्रमण गरेको थियो । त्यहिदिन रामनगरका स्थानीयको आधा दर्जन भन्दा बढी खसीबाख्रा पनि बाघले मारेको थियो।