वीरगन्जबाट हराएका व्यावसायी अग्रवाल मृत भेटिए 

वीरगन्जबाट हराएका व्यावसायी अग्रवाल मृत भेटिए 

वीरगन्ज, २६ मंसिर । वीरगन्जबाट बेपत्ता भएका व्यावसायी सुनिल अग्रवाल भारतमा मृत फेला परेका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर ६ निवासी अग्रवाल आईतबार बिहान प्रभातीय भ्रमणमा निस्किएदेखि बेपत्ता भएका थिए ।

अग्रवालको भारत बिहार राज्यको पूर्वी चम्पारण जिल्लाको छौडादानों रेलवे क्षेत्रमा फेला परेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । पशुपति इलेक्ट्रिक हाउसका  संचालक ५० वर्षीय  सुनील अग्रवाल वीरगन्जमा प्रभातीय भ्रमणका क्रममा बेपत्ता भएपछि परिवारले खोजतलास गरेका थिए ।

आफन्त र साथीभाईकोमा खोजी गर्दा समेत उनी फेला नपरेपछि परिवार जनले प्रहरीलाई खोजी गरिदिन अनुरोध गर्दै निवेदन दिएका थिए । परिवारका सदस्य देवकी प्रसाद अग्रवालका अनुसार सधैं बिहान ५ बजे प्रभातीय भ्रमणमा निस्किएर उनी ७ बजे घर फर्किने गरेका थिए ।

उनी हिजो ९ बजेसम्म पनि घर नफर्किएपछि खोजी शुरु भएको थियो । अग्रवालको छौड़ादानो रेल क्षेत्रमा फेला परेको उनको शव आईतबार नै रक्सौल स्टेशनमा ल्याएको छ । मृतकको शव पोष्टमार्टम गरी कानूनी प्रकृया पूरा गरेर परिवारको जिम्मा लगाईने भारतीय सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

भारतीय सुरक्षा अधिकारीहरुका अनुसार परिवारजनले शवको पहिचान गरिसकेको छ । अग्रवाल बेपत्ता भएको सूचना पाएपछि नेपाल प्रहरीले पनि खोजी शुरु गरेको थियो । वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विशाल मल्लका अनुसार अग्रवाल आईतबार बिहान ५ः३० बजेको समयमा अलखिया मठ स्थित हनुमान मन्दिरमा पूजा गरेको सीसीटीभी क्यामेरामा देखिएको छ ।

त्यस्तै ५ः४५ मा उनी शंकराचार्य गेटमा सामान्य अवस्थामा हिडेको देखिएको प्रहरी निरीक्षक मल्लले बताउनुभयो । रक्सोलनमा शव ल्याइसकेको जानकारी पाएको र पोष्टमार्टम पछि यथार्थ घटनाको बारेमा जानकारी हुने पनि मल्लले बताउनुभयो ।