विश्व वातावरण दिवसको अवसरमा वीरगन्जमा विभिन्न संघसंस्थाहरुद्वारा वृक्षरोपण

विश्व वातावरण दिवसको अवसरमा वीरगन्जमा विभिन्न संघसंस्थाहरुद्वारा वृक्षरोपण

वीरगन्ज, २२ जेठ । विश्व वातारवरण दिवसको अवसरमा वीरगन्जमा पनि आज विभिन्न संघ संस्थाले विभिन्न स्थानमा वृक्षरोपण सहित जनचेतनामूलक कार्यक्रमयको आयोजना गरेको छ । प्रकृति सेवा प्रतिष्ठानले वीरगन्ज महानगरपालिका परिसरमा वृक्षरोपण गर्नुका साथै वातावरण मैत्री झोला वितरण गरेको छ ।

वीरगन्ज महानगरपालिका परिसरमा प्रकृति सेवा प्रतिष्ठानका अध्यक्ष सरदार जसपाल सिंहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले विरुवा रोपेर वातावरण दिवसको उदघाटन गर्नुभयो ।

कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार निरौला, वातावरण महाशाखाका प्रमुख इञ्जिनियर सुनिल कण्ठ, संचारकर्मी तथा वावतावरण संरक्षणमा लागेका अभियन्ताहरुको पनि सहभागिता रहेको अध्यक्ष सिंहले बताउनुभयो ।

त्यसपछि प्रतिष्ठानले वीरगन्जको घण्टाघरदेखि उत्तर नेपाली सेनाको व्यारेक अगाडि रहेको विरुवाहरुलाई अंगालो मारेर वोटविरुवालाई संरक्षण गर्नुपर्छ भन्ने सांकेतिक सन्देश दिएको उहाँले बताउनुभयो । रुखलाई अंगालो मार्ने कार्यक्रमपछि मानव सेवा आश्रममा पनि वृक्षारोण गरिएको छ ।

प्रकृति सेवा प्रतिष्ठानले विगत १५ दिनदेखि विभिन्न स्थानमा वृक्षारोपण र वतावरण संरक्षण सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु निरन्तर गर्दै आएको र आज विश्व वातावरण दिवसको दिन विशेष कार्यक्रमको आयोजना गरिएको सरदार सिंहले बताउनुभयो ।

त्यस्तै ग्रिनसिटी सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी आदर्शनगरले पनि आदर्शनगर क्षेत्रमा आज बिहान ८० वटा विरुवा रोपेको छ ।  ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला

अधिकारी पिताम्बर घिमिरे, प्रहरी उपरीक्षक वेल बहादुर पाण्डे, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, जिल्ला ट्राफिक प्रहरी निरीक्षक सुमन कार्की लगायतको उपस्थिति रहेको थियो । रोपिएका विरुवा संरक्षणका लागि रुंगटा वेलफेयर सोसाईटीले १५ वटा र रिलिफ सोसाईटी अफ कमर्सले १५ वटा ट्रिगार्ड समेत उपलब्ध गराएको अध्यक्ष खेतानले बताउनुभयो ।

त्यसैगरी मानव अधिकार तथा शान्ति समाज पर्साले आज विश्व वातावरण दिवसको उपल्क्षयमा बिरगंजको त्रिजुद्ध माध्यामिक विद्यालय परिसरमा वृक्षारोपण गरेको छ । समाजका सभापति प्रेम पटेलको अध्यक्षतामा भएको वृक्षरोपण कार्यक्रममा पुर्ब

केन्द्रिय सचिव प्रमानन्द चौधरी, बिरगंज महानगर पालिका वडा नम्बर ४ का वडा अध्यक्ष  जगत साह कानु, विद्यालयका प्रधानाध्यापक हरेन्द्र प्र.कुर्मी, समाजको उपसभापति  जिनुमाया लगायत अन्य सदस्यहरुको उपस्थिति रहेको सभापति प्रेम पटेलले जानकारी दिनुभयो ।

त्यस्तै माउण्ड एभरेष्ट क्लबले पनि आज बाईपास क्षेत्रमा वृक्षरोपण गरेको छ । विश्व वातावरण दिवसको अवसरमा जिल्ला वन कार्यालय पर्साले ग्रिनसिटीलाई १५० लगायत अन्य संस्थालाई १५० गरी ३०० विरुवा वितरण गरेको कार्यालयका प्रमुख फरमान मियाँले जानकारी दिनुभयो ।

वृक्षारोपण गरेपनि संरक्षणमा चुनौती 


हरेकबर्ष विश्व वातावरण दिवस दिन तथा अन्य दिवसहरुमा पनि वृक्षरोपण हुदै आएपनि त्यसको संरक्षणको पाटो भने प्रभावकारी हुन सकेको छैन । वृक्षरोपण मात्रै गर्ने र हेरचाह र संरक्षण नगरिँदा रोपिएको विरुवा समेत नष्ट हुने गरेको छ । नागरिकमा रुख रोप्ने मात्रै होईन संरक्षण पनि गर्नुपर्छ भन्ने सोचको विकास नहुँदा वातावरण संरक्षण चुनौती बन्दै गएको छ । जसले गर्दा अहिले वातावरण प्रदूषित हुने र अक्सिजनको अभावमा मानव जीवन जोखिममा पर्दै गएको छ ।

वातावरण प्रदूषण हुँदा जमिन तातिदै गएको छ । जसले गर्दा हाम्रो हावापानी नै परिवर्तन भएको डिभिजन वन कार्यालय वीरगन्जका प्रमुख फरमान मियाँले बताउनुभयो । मानव सृजित क्रियाकलापकै कारणले अहिले वन जंगलको विनास हुदै गएको छ । वन जंगल मास्नु प्रकृतिसँग खेलवाड गर्नु भएको बताउदै उहाँले वन तस्करी गर्ने, चरीचरण खुला गर्ने लगायतका तत्वहरुले वातावरणमा प्रतिकूल प्रभाव पारीरहेको उहाँले बताउनुभयो ।

एउटा व्यक्तिलाई २४ घण्टा सास फेर्नका लागि १६ किलो अक्सिजनको आवश्यकता पर्ने भएकोले एकजनाले कम्तिमा पनि ८ वटा विरुवा रोप्नुपर्ने मियाँको भनाई छ । अहिले कोरोना संक्रमणले झन अक्सिजन किन्न समेत नपाईने अवस्थामा वोट विरुवा संरक्षणको महत्व झन बढ्दै गएको उहाँ बताउनुहुन्छ । यसको लागि राजनीतिक नेतृत्वको प्रतिवद्धता आवश्यक रहेको बताउनुभयो ।