बाढीजन्य प्रकोपमा उद्दारका लागि सशस्त्र प्रहरी पर्साको पूर्वअभ्यास

बाढीजन्य प्रकोपमा उद्दारका लागि सशस्त्र प्रहरी पर्साको पूर्वअभ्यास

वीरगञ्ज, १२ असार । सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साले शुक्रबार वीरगञ्जमा बाढी जन्य विपदमा गरिने उद्दारको पूर्वअभ्यास गरेको छ । गणकै छेउको पोखरीमा गरिएको अभ्यासमा सशस्त्र प्रहरीका तालिमप्राप्त उद्दारकर्मीले आफ्नो कौशल प्रदर्शन गरेका थिए । कृत्रिम घटनामा उद्दारकर्मी टोलीले रबर बोट र डोरीको सहायताले विपद आउँदा जस्तैगरि उनीहरुको उद्दार गरेका थिए ।

नेपालमा यसपालीको मनशुन शुरु भईसकेको मौसमविदहरुले बताएका अनुसार यसवर्ष सरदर भन्दा उच्च वर्षा हुने  र बाढी, पहिरो कटान र डुबानको समस्या बढी नै आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै बाढीजन्य प्रकोप न्यूनीकरणका लागि तयारी अवस्थामा राख्न पूर्वअभ्यास गरिएको सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले बताउनुभयो ।

पर्सा जिल्ला बाढी जन्य प्रकोपको जोखिममा छ । त्यसैले गणमा ३५ जना जनशक्तिलाई ७ दिने विपद अनुशिक्षण तालिम दिईसकेको गणपति सशस्त्र प्रहरी उपरीक्षक खड्काले बताउनुभयो । कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख सरावगीले भेडाहा र सिर्सिया नदीका कारण वीरगञ्जमा वर्षेनी समस्या आउने गरेको बताउदै भेडाहा नदी किसानको खेतमा र सिर्सिया नदी नगरको बस्तीमा पस्ने गरेको बताउनुभयो ।

विपदमा मानवीय क्षति नहोस भनेर महानगर सचेत रहेको बताउँदै नगर प्रमुख सरावगीले सबै सरोकारवालासँग समन्वय गरेर अघि बढ्ने बताउनुभयो । पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले विपदमा जोखिममा खोज उद्दार, नागरिकको जिउ ज्यानको सुरक्षामा भूमिका निर्वाह गर्न सुरक्षा निकाय तयारी अवस्थामा रहेको बताउनुभयो । जिल्ला विपद व्यवस्थापन समितिले मनसुन प्रतिकार्य योजना २०७८ गरेको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी घिमिरेले पर्सामा विपद आउनुपूर्वको तयारी भईसकेको जानकारी दिनुभयो ।