बैंकहरुले बढाएको ब्याजदर घटाउन राष्ट्रबैंकको निर्देशन 

बैंकहरुले बढाएको ब्याजदर घटाउन राष्ट्रबैंकको निर्देशन 

वीरगन्ज, ३ कार्तिक । ब्याजदर बढाएका बैंकहरुलाई बुधबारभित्रै नयाँ ब्याजदर तोकेर बुधबारदेखि नै लागू गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले समयसीमा नै तोकेर बैंकहरुलाई ब्याजदर घटाउन पहिलो पटक यस्तो निर्देशन दिएको हो ।

कात्तिकका लागि नयाँ निक्षेपको ब्याजदर सार्वजनिक गरेका बैंकहरुले तीन वर्ष यताकै उच्च ब्याजदर दिने घोषणा गरेका थिए । यसको असर शेयर बजारमा समेत नकरात्मक परेको छ । बैंकहरुले मनपरी गर्न थालेको भन्दै चौतर्फी आलोचना भइरहेको थियो । आक्रामक रुपमा निक्षेपको ब्याजदर बढाएका बैंकहरुलाई नेपाल राष्ट्र बैंकले तत्कालै ब्याजदर घटाउन निर्देशन दिएको छ ।

मंगलबार साझ तीन बुँदे निर्देशन जारी गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई अघिल्लो प्रकाशित ब्याजदरमा १० प्रतिशतमात्रै परिवर्तन गर्न सक्ने बताएको छ । यो निर्देशन बुधबार नै कार्यान्वयन गरी नयाँ ब्याजदर आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्न बैंकहरुलाई केन्द्रीय बैंकले एक दिने अल्टिमेटम दिएको छ ।

यस्तो ब्याजदर मिति कात्तिक ४ गतेभित्र दैनिक पत्रिकामासमेत प्रकाशन गर्न निर्देशन दिइएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार संस्थागत मुद्दति निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई प्रदान गरिने भन्दा कम्तिमा एक प्रतिशतले कम हुनुपर्नेछ ।

 हिमालयन बैंकले सबैभन्दा बढी ब्याजदर दिने घोषणा गरेको छ । ११ दशमलव ६६ प्रतिशतसम्म दिने बताएको छ भने त्यसलाई पछ्याउँदै एनआईसी एशिया बैंकले पनि आकर्षक ब्याजदर सार्वजनिक गरेको छ ।

हिमालयन, एनआईसी एसिया, सिद्धार्थ, एनसीसी लगायत आधा दर्जन बढी बैंकहरुले ब्याजदर दोहोरो अंकमा पुर्‍याएका छन् । राष्ट्र बैंकको निर्देशन पछि अब आज नै यी बैंकहरुले ब्याजदर घटाएर नयाँ ब्याजदर वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्नेछ ।