वीरगन्ज उद्योग वाणिज्य संघद्वारा सस्तो बजार संचालन तथा शुभकामना आदान प्रदान आयोजना 

वीरगन्ज उद्योग वाणिज्य संघद्वारा सस्तो बजार संचालन तथा शुभकामना आदान प्रदान आयोजना 

वीरगन्ज, १० असोज । वीरगन्ज उद्योग वाणिज्य संघले बडादशैंको अवसरमा संस्तो बजार संचालन गर्नुका साथै शुभकामना आदान प्रदान कार्यक्रमको पनि आयोजना गरेको छ । वीरगन्जको राणीसति धर्मशालासँगै रहेको टिवडेवाल धर्मशालामा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन सस्तो बजार संचालनमा ल्याएको हो ।

सस्तो बजारको पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले उदघाटन गर्नुभएको थियो । सस्तो बजार उद्घाटन गर्दै प्रजिअ ढकालले वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सस्तो बजारबाट वीरगञ्ज लगायत आसपास क्षेत्रका आम सर्वसाधारणहरु लाभान्वित हुने बताउनुभयो ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले सर्वसाधारणलाई लक्षित गरी दशैंको अवसर पारी आयोजना गरेको दशैं सस्तो बजार सञ्चालन गर्ने कार्यको उहाँले सराहना पनि गर्नुभयो । सस्तो बजारले महंगो दशैंमा केही उपभोत्तालाई राहत दिने वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध गुप्ताले विश्वास गर्नुभएको छ ।

हरेक बर्ष दशैंदेखि शुरु हुने सस्तो बजार यसबर्ष पनि वीरगन्ज उद्योग वाणिज्य संघले संचालनमा ल्याएको छ । घरेलु तथा साना उद्योग कार्यालय, पर्सा र वीरगञ्ज उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा सञ्चालन गरिएको सस्तो बजार सात दिनसम्म लाग्ने छ । “दशैं सस्तो बजार २०७९” बजार घटस्थापनादेखि फुलपातीसम्म आयोजना हुने बताइएको छ ।

उक्त सस्तो बजारमा दैनिक उपभोग्य सामग्री सहितको १९ वटा स्टलहरु राखिएको छ । दैनिक उपभोग्य वस्तुहरु सुपथ मूल्यमा एकैथलोमा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोध कुमार गुप्ताले बताउनुभयो ।

दशैं सस्तो बजारमा दैनिक उपभोग्य सामग्रीहरु एकैथलोमा सुपथ मूल्यमा उपलब्ध भइरहेकोले यस्ता सामग्री खरिद गरी लाभान्वित हुन आम उपभोत्तालाई गुप्ताले आग्रह पनि गर्नुभयो । सस्तो बजारमा नेपाली उत्पादनहरु उपभोत्तालाई जानकारी हुने र भारतीय वस्तुहरुसँगको मूल्यको समेत तुलना गर्न सक्ने भएकोले सस्तो बजारले आम उपभोत्तालाई राहत पनि हुने विश्वास संघले लिएको छ ।