अवैध सामान सहित एक ट्रक र दुई ट्याक्टर प्रहरी नियन्त्रणमा
वीरगन्ज, २४ असार । भारतर्फ तस्करी गर्न लागेको केराउ र स्याउ लोड गरिएको दुईवटा ट्रयाक्टर र अवैध सामान सहितको एक ट्रक जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ । प्रदेश नं. २ प्रहरी कार्यालय, जनकपुरको सूचनामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बीरगञ्ज महानगरपालिका, वडा नम्बर १९ बाट स्याउ र केराउ लोड रहेको टयाक्टर नियन्त्रणमा लिएको हो ।
बीरगञ्जबाट बहुअरी गाउँतर्फ जाँदैगरेका २ वटा ट्रयाक्टरलाई रोकेर जाँच गर्ने क्रममा चालकहरू दुवै ट्रयाक्टर छोडेर फरार भएका छन् । चालकले छोडेको टयाक्टरमा खानतलासी गर्दा ना.१ त. ७०४५ नं. को ट्रयाक्टरमा ४ हजार केजी स्याउ र ना.४ त.८५६२ नं. को ट्रयाक्टरमा ६ हजार केजी केराउ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवत्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
कुनै बिल बिजक नरहेको स्याउ र केराउ भारततर्फ तस्करी गर्न लागिएको प्रहरीले जनाएको छ । स्याउ र केराऊ सहित बरामद गरिएको टयाक्टरको मूल्य २२ लाख ६० हजार अनुमान रहेको र आवश्यक कारबाहीको लागि बीरगञ्ज भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । यस्तै, भन्सार छली गरी अवैधरूपमा मालसामानहरू ट्रकमा लोड गरी लैजादै गरेको सूचनाको आधारमा अस्ती एक ट्रक सामान प्रहरीले नियन्त्रणमा लिएको छ ।
बीरगन्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघरमा खुद्रा सामान बोकी बीरगञ्जबाट नारायणघाटतर्फ जाँदैगरेको जय बजरंग बली ट्रान्सपोर्टको ना २ ख ८६१७ नम्बरको ट्रकलाई शंका भएपछि रोकेर चेकजाँच गर्ने क्रममा चालक फरार भएका थिए । प्रहरीले ट्रक नियन्त्रणमा लिएर मालसामान तथा सहितको ट्रकको अन्दाजी मूल्य २० लाख मूल्याङ्कन गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा हिजो बुझाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।