शैक्षिक सत्र शुरु भएपनि बजारमा पुस्तकको अभाव, अभिभावक र विद्यार्थी चिन्तित, सरोकारवाला निकाय मौन 

शैक्षिक सत्र शुरु भएपनि बजारमा पुस्तकको अभाव, अभिभावक र विद्यार्थी चिन्तित, सरोकारवाला निकाय मौन 

वीरगन्ज, १९ जेठ । शैक्षिक सत्र शुरु भएपनि बजारमा पाठ्यपुस्तकको चरम अभाव देखिएको छ । पाठ्यक्रम परिवर्तन भएपछि नयाँ पुस्तक किन्न विद्यार्थी र अभिभावक दबाव बढेको छ ।

बजारमा पुस्तक नपाउँदा अभिभावकहरु चिन्तत छन् । भने विद्यार्थीहरुलाई पुस्तक नपाउँदा अध्ययन प्रभावित हुने चिन्ताले सताएको छ । बजारमा पुस्तक अभावले अभिभावक र विद्यार्थीलाई तनाव भईरहँदा समेत सम्बन्धित सरोकारवाला निकायहरु भने मौन प्राय : देखिन्छन् ।

पुस्तक अभावले शिक्षा क्षेत्रमा पर्नसक्ने प्रभावको विषयमा शिक्षा विकास समन्वय इकाई, स्थानीय सरकारको रुपमा रहेको वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा भने एकअर्काको मुख ताक्दै बसेका छन् । 

निजी तथा संस्थागत विद्यालयहरु भने आफ्नो आम्दानी गुम्ने डरले विद्यार्थीलाई एक विद्यालयबाट अर्को विद्यालयमा चारित्रिक प्रमाणपत्र र स्थानान्तरण प्रमाणपत्र अनिवार्य हुनुपर्ने निर्णय गर्नमा मात्रै व्यस्त छ । अभिभावक संघ र पुस्तक व्यावसायी संघहरु यस विषयमा बोलेका छैनन् । 

विद्यार्थी हकहितको लागि भनेर राजनीतिक संरक्षणमा खोलिएका विद्यार्थी संगठनहरु विद्यार्थीको पीरमर्कामा भने बेखबर छन् । पुस्तक पसलहरुमा पुस्तक लिनेहरुको लाईन, पुस्तकको खोजीमा भौतारिरहेका विद्यार्थी र अभिभावकहरुमाथि विद्यार्थी संगठनहरुको अझै पनि ध्यान पुग्न सकेको छैन । राजनीतिक दलले कुनै मुद्दामा आन्दोलन गर्न निर्देशन दिँदा हौसिने विद्यार्थी संगठनहरु आफ्नै वर्ग, विद्यार्थीहरुको समस्यामा भने एकशब्द समेत बोलेका छैनन् ।

निजी तथा आवासीय विद्यालय संगठन प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामाले पुस्तक छपाईमा छापाखानाहरुले ढिलाई गर्दा बजारमा पुस्तकको अभाव भएको बताउनुभयो । उहाँका अनुसार पाठ्यक्रम परिवर्तन भएपछि पुस्तक छपाई गर्ने छापाखानाहरुमा समेत अन्योलता सृजना भएको र निर्वाचनमा मतपत्र छाप्ने काम भएपछि पुस्तक छाप्न ढिलाई भएर बजारमा पुस्तक उपलब्ध नहुँदा अभाव भएको हो ।

कतिपय छापाखानाहरुले पाठ्यक्रम विकास केन्द्रबाट पुस्तक छाप्ने अनुमति ढिलो पाएकोले पनि पुस्तक छपाईमा ढिलो हुँदा बजारमा पुस्तक नआएको लामाको भनाई छ । अहिले बजारमा पुस्तक आउने क्रम जारी रहेको र जेष्ठ महिना भित्रमा सबै पुस्तक बजारमा उपलब्ध हुने प्याब्सनका केन्द्रीय सदस्य लामाले बताउनुभयो ।

अभिभावक संघ पर्साका अध्यक्ष अमर गौतम भने राज्यपक्षको उदासिनताले विद्यार्थीहरुले समयमा पुस्तक नपाउँदा अध्ययन अध्यापन प्रभावित भएको बताउनु भएको छ । उहाँले अभिभावक संघले स्थानीय स्तरका सरोकारवाला निकायहरुसँग विभिन्न चरणमा छलफल तथा ध्यानाकर्षण गराएपनि राज्यको ढिला सुस्तीले नै विद्यार्थीले समयमा पुस्तक नपाएको बताउनुभयो ।