तराईमा छठको उल्लास
वीरगन्ज, २३ कार्तिक । तराई मधेसको सांस्कृतिक धरोहरको रुपमा मनाईने छठको दोस्रो दिन मंगलबार ब्रतालुहरु ‘खरना’ विधिको तयारीमा जुटेका छन् । पर्वको पहिलो दिन हिजो ‘नहाय–खाय’ सम्पन्न गरेका ब्रतालुहरु आज पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् ।
आज बिहान स्नान गरी दिनभरि निराहार उपवास बसेर राति सख्खरमा पकाइएको खिर कूलदेवता र छठीदेवीलाई चढाई त्यही खिर खाने चलन छ । ‘खरना’ का दिन दिनभर उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर राखेर खीर पकाउने र त्यसलाई केराको पातमा राखेर छठी मातालाई चढाएर मात्र ब्रतालु र परिवारका अन्य सदस्यले प्रसादका रूपमा खाने गर्छन् ।
पर्वको तेश्रो दिन भोलि बुधबार अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेका बर्तालुले जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिनेछन् । यसलाई मिथिलामा ‘सझुका अरख’ भन्छन् । भोजपुरी क्षेत्रमा यसलाई ‘सझिँयाघाट’ भन्ने गरिन्छ । यसैगरी पर्सी सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत रुपमा समापन हुने गर्दछ ।
वीरगन्जमा छठको चहलपहल
यसैबीच छठ पर्व नजिकिएसँगै वीरगञ्जको मुख्य बजारमा चहल पहल बढेको छ । छठपर्वमा आवश्यक सामग्रीको बजारमा किनमेल गर्नेहरुको चहलपहल बढेको हो । वीरगन्जको मुख्य आकर्षणको केन्द्र घडिअर्वा पोखरी दुलही झैं सिँगारिएको छ ।
स्थानीय उत्पादन विक्रीका लागि बजारमा ल्याईएको छ । त्यसले सडकमा सवारी साधनको चाप छ । घण्टाघरदेखि माईस्थानसम्म पुग्न सामान्य अवस्थाभन्दा धेरै समय लाग्छ । सडकको छेउछाउमा छठपर्वमा चाहिने सामग्रीहरु विक्री वितरणका लागि राखिएको छ ।
किनमेल गर्न आउनेहरुको अत्याधिक भीड बढ्दै गएको छ । घडिअर्वा पोखरीमा सुरक्षा व्यावस्था मिलाउनका लागि सुरक्षा समितिको बैठक पनि अहिले बसिरहेको छ । छठपर्वमा अवाञ्छित गतिविधि हुन नदिन आवश्यक सुरक्षाकर्मीहरु परिचालन गरिएको पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जानकारी दिनुभयो । उहाँले सादा पोशाक र बर्दीमा सुरक्षाकर्मीहरुलाई परिचालन गरिएको बताउनुभयो ।