मस्कोट एकेडेमीमा अन्तर सदन दैउसीभैलो प्रतियोगिता सम्पन्न 

मस्कोट एकेडेमीमा अन्तर सदन दैउसीभैलो प्रतियोगिता सम्पन्न 

वीरगन्ज, ५ कार्तिक । वीरगन्जको रेशमकोठीमा रहेको मस्कोट एकेडेमीले आज विद्यालयमा अन्तरसदन देउसीभैलो कार्यक्रमको आयोजना गरेको छ । विद्यालयको प्रांगणमा आयोजना गरेको देउसीभैलो प्रतियोगितामा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको चारवटा समूहले प्रतिस्पर्धा गरेका छन् ।

विद्यालयका निर्देशक छेडुप लामाको अध्यक्षतामा भएको प्रतियोगिताको वीरगन्ज महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रदीप कुमार चौरसियाले उदघाटन गर्नुभएको थियो । प्रतियोगितामा ग्रिन हाउस प्रथम, एल्लो हाउस द्वितीय र रेड हाउस तृतीय भएका छन् । विजेताहरुले विद्यालयको तर्फबाट क्रमशः पाँचहजार, तीनहजार र दुईहजार प्राप्त गरेका छन् ।

वडा समितिको तर्फबाट भने ११ हजार रुपैंया प्राप्त गरेका छन् । कार्यक्रममा प्याब्सन पर्साका बरिष्ठ उपाध्यक्ष सरोज चौधरी, एनप्याब्सनका पर्सा अध्यक्ष रामराज श्रेष्ठ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका मधेस प्रदेश इन्चार्ज निरज पिठाकोटे, अभिभावक संघ पर्साका अध्यक्ष अमर गौतम, वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौगाई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

विद्यालयका बरिष्ठ शिक्षक बलराम श्रेष्ठले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयकी प्रशासन प्रमुख रोशनी श्रेष्ठले गर्नृुभएको थियो । कार्यक्रममा प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य जगत राई, आदिवासी जनजाति पत्रकार महासंघ पर्साका उपाध्यक्ष मूनेश कुमार लायो मगर, कोषाध्यक्ष संतोष रञ्जितकार लगायतको उपस्थिति रहेको थियो ।

विद्यालयका बालबालिकाहरुलाई पनि नेपालको विभिन्न धर्म समुदायको कला संस्कृतिको विषयमा प्रत्यक्ष अनुभव मार्फत जानकारी गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको विद्यालयका निर्देशक छेडुप लामाले बताउनुभयो ।