मकवानपुर र कपिलवस्तुमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु
वीरगन्ज, ५ कार्तिक । मकवानपुर र कपिलवस्तुमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । मकवानपुरको बागमती गाउँपालिकामा मलामी गएर फर्केको अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । घटनामा तीन जना घाइते भएका छन । घटनामा परि बागमती–८ का रामबहादुर गोलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार राति बागमती–५ कोइलादमार चोक नजिक ना १ ह ५८५५ नम्बरको अटो सडकमा रोकिराखेको बागमती प्रदेश ०३–००१ क ४१३ नम्बरको ट्रकमा ठोक्किएको थियो । दुर्घटनामा परि अटो चालक बागमती–८ का सिंहबहादुर योन्जन, अटोमा सवार सोही वडाका वीरबहादुर थोकर र लक्ष्मण राई घाइते भएका छन् ।
घाइतेमध्ये १ जनालाई थप उपचारका लागि चितवन पठाइएको र २ जनाको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइहेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । त्यस्तै कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ । तीन जना घाइते भएका छन् ।
चारनम्बर जितपुरबाट शुक्रबार राति तौलिहवातर्फ जाँदै गरेको सशस्त्र प्रहरीको ना १ ग ५५४ न. ट्रक बाणगंगा नगरपालिका वडा नं. ३ सिउटीमा अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा सशस्त्र प्रहरी हवल्दार रमेश चौधरी, सहायक हवल्दार रमेश चौधरी, जवान जनक चौधरी र साइकल यात्री बाणगंगा नगरपालिका–३ का २६ वर्षीय अमर संग्रामी मगरको उपचारका क्रमममा मृत्यु भएको हो सशस्त्र प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।
घाइते भएका सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द सुवेदी, वरिष्ठ हवल्दार कुलबहादुर घर्ती र जवान प्रेम मल्लको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरू तीन जनाकै अवस्था चिन्ताजनक रहेको छ ।