१६ हजार ७ सयलाई निःशुल्क खाना खुवाएर अभियान समापन
वीरगन्ज, १२ असार । कोरोना संक्रमण महामारीमा रेल्वे कटेजले संचालन गरेको निःशुल्क भोजनको शनिबार समापन गरिएको छ । फिड फर निडी भन्ने नाराका साथ ५२ औं दिन निरन्तर निशुल्क भोजन अभियान संचालन गरेको रेल्वे कटेजले समारोहको आयोजना गरी समापन गरेको हो ।
समापन सारोहमा अभियानमा निस्वार्थ मानवीय सेवा भावले अहोरात्र खटिएका स्वयसेवकहरुलाई प्रमुख अतिथि नगर प्रमुख विजय कुमार सरावगीले सम्मान गर्नुभएको छ । अभियानमा खटिएका स्वंयसेवकहरुलाई सम्मान गर्दै महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले मानवी संकटमा अत्यन्त मानवीय भावका साथ सेवा गर्ने स्वयंसेवकहरुको काम जति प्रशंसा गरेपनि कमी नै बताउनुभयो ।
उहाँले आर्थिक र औद्योगिक सहर वीरगन्जमा मानवीय भावनाका युवाहरुको सक्रियता अत्यन्त अनुकरणी यर अनुसरणीय रहेको बताउनुभयो । महानगरपालिका क्षेत्रमा गरिब विपन्न तथा असहायहरु र रोजगारी गुमाएकाहरुलाई दुईछाक खान समस्या नहोस भन्ने उद्देश्यले संचालन गरेको अभियानमा ५२ दिनसम्ममा १६ हजार ७ सय जनालाई निःशुल्क खाना खुवाईएको अभियानका संयोजक ओमप्रकाश सर्राफले जानकारी दिनुभयो ।
आउने दिनमा पनि जुनसुकै बिषम परिस्थिति आएमा फेरि आफ्नो टिम तादरुक्ताका साथ समाजिक उतरदायित्व पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । साथै सहयोगी, शुभेच्छुकहरुप्रति पनि धन्यवाद र आभार प्रकट गर्नुभयो ।