वन गस्ती टोलीद्वारा काठ सहितको ७० वटा साईकल र ५० वटा बञ्चरो बरामद
कृष्णमोहन साह
सेंढवा, १५ पुष । डिभिजनल बन कार्यालय पर्सा अवैध रुपमा कटान गरी ल्याएको काठ र साईकल बरामद गरेको छ । डिभिजनल बन कार्यालय बिरगंजबाट सुवेदार बिनोद प्रसाद कुर्मीको नेतृत्वमा परिचालन भएको बन गस्ती टोलीले विभिन्न स्थानबाट ७० वटा साईकल र दाउरा सहित ५० वटा बञ्चरो बरामद गरेको छ ।
जाडोको समयमा वनगस्ती कम हुने मौका छोपेर व्यापक मात्रामा बन फडानी भैरहेको सूचनाको अधारमा खटिएको वन गस्ती टोलीले पर्साको राष्ट्रिय बन क्षेत्रमा एकहप्ता लगातार गस्ती गर्दा रंगपुर, मनवा, बढनियार क्षेत्रबाट दाउरा सहितको ७० वटा साइकल र ५० वटा बन्चरो बरामद गरिएको हो ।
वनमा दाउरा काट्न जानेलाई सम्झाइ बुझाइ छोडिएको सुवेदार कुर्मीले बताउनुभयो । उक्त क्षेत्रमा रहेका बन कार्यालयहरुको लापरबाहीले गर्दा त्यस क्षेत्रमा काँचो सालको लाथ्रा चिरेर दाउरा बनाएर विक्री गर्ने क्रम बढेपछि जिल्लाबाट नै गस्ती टोलि परिचालन गरेर नियन्त्रण गर्नु परेको डिभिजनल बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत सुभाष चन्द्र दासले जानकारी दिनुभयो ।