वडाबाट नागरिकताका लागि सिफारिस लिँदा अनलाईन टोकन चाहिने 

वडाबाट नागरिकताका लागि सिफारिस लिँदा अनलाईन टोकन चाहिने 

वीरगन्ज, १२ असार । नयाँ ऐन अनुसार नागरिकताका लागि वडामा सिफारिस लिन जिल्ला प्रशासन कार्यालयको अनलाईन टोकन लिनुपर्ने भएको छ । नयाँ नागरिकता ऐन अनुसार जन्मका आधारमा वितरण गरिने वंशजको नागरिकता प्राप्तीको लागि टोकन प्रणाली अनुसार नै सिफारिस गर्न वडा कार्यालयहरुलाई पत्राचार गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले आज एक सूचना जारी गरी नागरिकता लिनका लागि वडामा सिफारिस लिन जानेहरुसँग जिल्ला प्रशासन कार्यालय पर्साको अनलाईन टोकन अनिवार्य माग गर्न वडा कार्यालयलाई भनेको हो ।

कार्यालयमा सेवाग्राहीहरुको चाप कम गरी सहज रुपमा नागरिकता पाउने वातावरण बनाउन अनलाईनबाटै टोकन लिने व्यावस्था गरिएकोले सोही अनुसार वडा कार्यालयहरुले सिफारिस गर्दा मिति अनुसार नै सिफारिस गर्न अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले हस्ताक्षर गरी जारी गरेको सूचनामा जन्मको आधारमा नागरिकता लिने सेवाग्रहीले वडामा सिफारिस लिन जाँदा जिल्ला प्रशासन कार्यालय पर्साले व्यावस्था गरेको अनलाईन टोकन माग गरेर मात्रै सिफारिस गर्न अनुरोध गरिएको हो ।

त्यसरी अनलाईन मार्फत टोकन लिएर सिफारिस लिन जाँदा वडा कार्यलयमा पनि भीड कम हुने र जिल्ला प्रशासन कार्यालयमा पनि भीड कम भई नागरिकता वितरणमा सहज हुने जिल्ला प्रशासन कार्यालय पर्साको बुझाई छ ।