महानगरको जग्गामा जिल्ला अदालतको फैसला उच्चले सदर गरेपछि मेटियो ‘जीपी फाउण्डेशन’
वीरगन्ज, १५ बैशाख । वीरगन्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगर स्थित किता नम्बर ८१७ को एक कठ्ठा जग्गामा परेको मुद्दामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले पर्सा जिल्ला अदालतको आदेशलाई नै सदर गरेपछि जीपी फाउण्डेशन मेटाएर पेण्ट गरिएको छ ।
विवादित जग्गा राजनीतिक संरक्षणबाट हत्याउने प्रयास गर्दै नेपाली कांग्रेसका नेता स्वर्गीय गिरीजा प्रसाद कोईरालाको स्मृतिमा स्थापना गरिएको जीपी कोईराला फाउण्डेशनको कार्यालय स्थापना गरिएको थियो । वीरगन्ज महानगरपालिका–१० को साबिक कित्ता नं ८१७ को ९हाल नापीमा कायम भएको कित्ता नं १८ र ५३० जग्गा किर्ते जालसाजी गरी बिक्री वा हक–हस्तान्तरणबिनै व्यक्तिका नाममा दर्ता भएको पाइएपछि महानगरले २०७५ असार ३ मा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।
२०७५ साल असार ३ गते पर्सा जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले व्यक्तिका नाममा दर्ता भएको वीरगन्ज महानगरपालिका–१० को साबिक कित्ता नं ८१७ को हाल नापीमा कायम भएको कित्ता नं. १८ र ५३० जग्गा वीरगन्ज महानगरपालिका कार्यालयका नाममा दर्ता कायम गर्ने फैसला गरेको थियो ।
सोही फैसलालाई उच्च अदालत जनकपुरको अस्थायी इजलाश वीरगन्जले सदर गरेको हो । उच्च अदालतले सदर गरेपछि जीपी कोईराला फाउण्डेशन मेटाएर अहिले गेटमा पेण्ट लगाईएको छ । महानगरको जग्गामा अझैपनि NITCO कम्पनीको टायल्सको गोदाम बनाएको छ ।