नेपाल रेडक्रस सोसाईटीद्वारा विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण 

नेपाल रेडक्रस सोसाईटीद्वारा विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण 

वीरगन्ज, २० माघ । नेपाल रेडक्रस सोसाईटी केन्द्रीय समितिले मधेस प्रदेशका विभिन्न स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । युनिसेफको सहयोगमा प्राप्त स्वास्थ्य सामग्री नेपाल रेडक्रस सोसाईटी मधेस प्रदेश समिति र पर्सा शाखाको रोहबरमा बिहीबार हस्तान्तरण गरेको हो ।

रेडक्रस सोसाईटीले मधेस प्रदेशमा रहेका स्वास्थ्य संस्थाहरु नारायणी अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय पर्सा, प्रादेशिक अस्पताल कलैया लगायतका स्थानमा स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको हो ।

नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालयबाट नागेन्द्र अर्यालले लिएर आउनु भएको सामग्रीहरु मध्य यौनरोग संक्रमण रोकथामका लागि आवश्यक किट, विभिन्न यौन हिंसामा परेका पीडितहरुको लागि आवश्यक सरसफाईका किटहरु तथा प्रजनन् स्वास्थ्यमा प्रयोग गरिने विभिन्न स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका सभापति विरेन्द्रराज कडेँलले जानकारी दिनुभयो ।

कोरोना महामारीमा खोप र संक्रमण नियन्त्रणमा केन्द्रीत हुँदा महिलाहरुको स्वास्थ्य उपचार प्रभावित हुने भएकोले महिलाहरुको स्वास्थ्य संवेदनशिलतालाई मध्यनजर गरेर स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको नेपाल रेडक्र सोसाईटी मधेस प्रदेशका अध्यक्ष फूल महम्मद मियाँले बताउनुभयो ।

स्वास्थ्य सामग्री नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर खालिद हसन र नर्सिङ प्रमुख हेमा थापालाई हस्तान्तरण गरिएको थियो । हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पर्साका सभापति कडेँल, मधेस प्रदेश समिति अध्यक्ष मियाँ, पर्सा शाखाका सदस्य शिवनाथ यादव, अस्पतालको तर्फबाट

निमित्त मेसु डा.खालिद हसन, हेमा थापा, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, रेडक्रसका स्टोर शाखा प्रमुख वीरशम्सेर प्रसाद कुर्मी, रक्तसञ्चार केन्द्रका प्राविधिक प्रमुख सौरभराज पाण्डे लगायतको उपस्थिति रहेको रेडक्रस सोसाईटी पर्साका सहायक राजन श्रीवास्तवले जानकारी दिनुभयो ।