अस्पतालमै छोडेको नवजात शिशुलाई अस्पतालले अभिभावकको जिम्मा लगायो 

अस्पतालमै छोडेको नवजात शिशुलाई अस्पतालले अभिभावकको जिम्मा लगायो 

वीरगन्ज, २२ असार । आर्थिक अभावका कारणले अस्पतालमा उपचार गरिएको नवजात शिशुलाई आशाराम अस्पतालले अभिभावकको जिम्मा लगाएको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १५ की रुन्चीदेवी माझीले स्वास्थ्य चौकीमा शिशुलाई जन्म दिनुभएको थियो । शिशुको स्वास्थ्य समस्या जटिल बनेपछि उपचारको लागि वीरगन्ज स्थित पानीटंकीमा रहेको आशाराम अस्पतालमा असार १४ गते अस्पतालमा भर्ना गरिएको थियो ।

उपचाररत शिशुको स्वास्थ्यमा सुधार आएपछि अस्पतालमा लागेको खर्च रकम बुझाउन  अस्पतालले रुन्चीदेवीलाई भन्यो । तर, उनीसँग पैसा भएन । उनका श्रीमान अस्पतालमा तिर्ने पैसा खोज्न गाउँ गए । गाउँ गएको श्रीमानको अतोपत्तो नभएपछि रुन्चीदेवी शिशुलाई अस्पतालमै छोडेर घर जानुभयो । अभिभावक विना नै आशाराम अस्पतालले नवजात शिशुको उपचार जारी राख्यो । अस्पतालले उपचार गरिरहेको नौं दिने शिशुलाई मंगलबार अभिभावकको जिम्मा लगाएर पठाएको छ ।

जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १५ की रुन्चीदेवीलाई वडा कार्यालयले आर्थिक अवस्था कमजोर भएको भन्दै सहुलियत दिन सिफारिस गरेपछि  आशाराम अस्पतालले शिशुलाई अभिभावकको जिम्मा दिएर पठाएको हो । अस्पतालकी ब्यवस्थापक निभा दासले  मृत्युको मुखमा पुगेको शिशुलाई आफूहरुले पुर्नजन्म दिएको बताउनुभयो । उहाँले गरिबीका कारण माझी परिवारले खर्च दिन नसकेर उनीहरु नै दुईदिनदेखि सम्पर्क बिहिन भएको र मंगलबार मात्रै सम्पर्कमा आएको पनि दासले बताउनुभयो । शिशुकी आमा रुन्चीदेवीले भने आफूहरुको आर्थिक अवस्था एकदमै कमजोर रहेका कारण अस्पतालले मागे जति रकम दिन नसकेपनि थोरै रकम लिएर आएको बताउनुभयो  ।

आशाराम अस्पतालमा नौं दिन अगाडि शिशुको उपचारका लागि भर्ना गरिएको र औषधी ६ हजार सहित सबै गरेर ४३ हजार ४ सय ९० खर्च भएकोमा माझी परिवारले १४ हजार २ सय दिएको र २९ हजार अझै बाँकी रहेको अस्पताल प्रशासनले जनाएको छ । बाँकी  रहेको रकम जीतपुर  सिमरा उपमहानगरपालिकाको वडा नम्बर १५ का वडा कार्यालयले ब्यहोर्ने प्रतिबद्धता जनाएपछि माझी परिवार शिशु लिएर घर फर्किएको आशाराम अस्पतालकी ब्यवस्थापिका दासले जानकारी दिनुभयो । अस्पतालको तर्फबाट पनि ३० प्रतिशत छुट दिएको उहाँले बताउनुभयो ।