पर्सामा खोप लगाउनेको संख्या ५३ प्रतिशत पुग्यो, १२ बर्षदेखि १७ बर्षसम्मका २५५३ जनाले लगाए खोप
वीरगन्ज, १० पुस । पर्सामा जिल्लामा कोरोना विरुद्धको खोप लगाउनको संख्या एकलाख ६८ हजार भन्दा बढी पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय पर्साले दिएको जानकारी अनुसार हालसम्म एकलाख ६८ हजार चारसय ६६ जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् ।
३७.८३ प्रतिशतले कोरोना विरुद्धको खोप लगाएको जिल्ला स्वास्थ्य कार्याल्यका खोप अधिकृत जयमोद ठाकुरले जानकारी दिनुभयो । पर्सामा अहिलेसम्म कोभिसिल्डको दुवै मात्रा लगाउनेको संख्या ३२ हजार नौसय ४२, भेरोसेलको दुवै मात्रालगाउने ७८ हजार सातसय ७७ जना, जोनसन एण्ड जोनसनको एकल मात्रा ३४ हजार सातसय ६५ र एस्ट्राजेनेकाको दुवै मात्रा २१ हजार नौसय ८२ जना गरी कूल एकलाख ६८ हजार चारसय ६६ जनाले खोप लगाएका छन् ।
खोप लगाएका मध्य एचआईभी एड्स संक्रमित महिला १७ र पुरुष २३ गरी ६० जना, महिला यौनकर्मीहरु १५ जना र तेश्रो लिंगी १५ जनालाई कोरोना विरुद्धको खोप लगाईएको छ । त्यस्तै १२ बर्षदेखि १७ बर्ष सम्मका दुईहजार पाँचसय ५३ जनालाई पहिलो मात्रा खोप लगाईएको छ ।
यसरी खोप लगाउन सुरु गरेदेखि अहिलेसम्म पर्सा जिल्लामा ५३ प्रतिशत पहिलो मात्रा खोप लगाएको र झण्डै ३८ प्रतिशत भने दुवै मात्रा खोप लगाई सकिएको खोप अधिकृत ठाकुरले बताउनुभयो । १९ बर्षभन्दा माथिका चारलाख ४५ हजार तीनसय ६८ जनालाई खोप लगाउने लक्ष्य राखिएको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
मंसिर २२ गतेदेखि २६ गतेसम्म संचालन गरेको विशेष खोप अभियानमा धेरै उपलब्धि हासिल गर्न सफल भएको खोप अधिकृत ठाकुरको भनाई छ ।