बिजबनिया बर्थिङ्ग सेन्टरबाट पहिलो प्रसूती सेवा प्रदान, सेवाबाट सेवाग्राही सन्तुष्ट
पर्सा, १५ जेठ । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ स्थित बिजबनिया बर्थिङ्ग सेन्टरमा पहिलो पटक प्रसुती सेवा प्रदान गरिएको छ । वडा नम्बर ३ खलुचडी निवासी फतमा खातुनले सो सेन्टरको प्रसुती सेवाबाट एउटा छोरीको जन्म दिनुभएको हो । बैशाख ४ गते उद्घाटन गरिएको बर्थिङ्ग सेन्टर सन्चालनमा आएको डेढ महिनामा पहिलो पटक प्रसुती सेवा दिईएको हो ।
गाउँको स्वास्थ्य संस्थाहरुमा अनुभवी चिकित्सक पनि नहुने र गुणस्तरीय सेवा पनि पाईदैन भन्ने मानसिकताले कोहीपनि स्थानीय सेवा लिन नआउने गरेकोमा बर्थिङ सेण्टरमा कार्यरत चिकित्सक र नर्सहरुको परामर्शपछि स्थानीय फतमा खातुनले विश्वासका साथ सेवा लिन आएर २ं.५ किलोको छोरीलाई सकुशल जन्म दिनुभएको सेन्टरमा कार्यरत अनमी पूजा यादवले बताउनुभयो ।
गर्भ परीक्षण गराउन खातुन उपचारका लागि सेन्टरमा आउँदा परीक्षण गर्दा (म्युकोमियम स्टेन्डं) अर्थात बच्चाले दिशा गरेको पाईएको अनमी यादवले बताउनुभयो । त्यस्तो जटिल अवस्थाको गर्भवती खातुनको पेट चिरेर नै बच्चा निकाल्नुपर्ने अवस्था भएपनि (थिन म्युकोमियम) दिसा पातलो भएका कारण सामान्य प्रसुती सेवाबाट बच्चा जन्मिन सक्छ भन्ने परिवारलाई सम्झाएपछि परिवारका सदस्यको अनुमतिमा उपचार शुरु गरिएको थियो ।
उपचार पछि उनले छोरीको सकुशल जन्म भएको हो शिशु र आमा दुवैको स्वस्थ्य अवस्था सामान्य रहेको बर्थिङ्ग सेन्टरका इन्चार्ज अमोद कुमार साहले बताउनुभयो । सकुशल उपचार पछि सेवा लिन आएका खातुन परिवारले अनमी पूजा यादवलाई धन्यावाद समेत दिएका थिए । सँगसँगै बर्थिङ्ग सेन्टरको प्रशंसा गरेका थिए । अवस्था हेरेर आफुहरु वीरगंज जान लाग्दा यहाँको चिकित्सकको आग्रहलाई मानेर बर्थिङ्ग सेण्टरमा नै प्रसुती सेवा पाएपछि ठूलो खर्च जोगिएको खातुनका श्रीमान विनोद गद्दीले खुशी व्यक्त गर्नुभयो ।
खुशी हुदै बिजबनिया बर्थिङ्ग सेन्टरले स्थानीयको विश्वास जितेकोमा अब गाउँका अन्य व्यक्तिलाई पनि त्यहि सेवा लिन प्रचारप्रसार गर्ने बताउनुभयो । वीरगंज लगायत शहरका ठूला ठूला अस्पतालमा जाँदा सामान्य प्रसुती हुने अवस्थालाई पनि जटिल भनेर पैसा ठग्ने गरेको भन्दै सफल प्रसुती सेवाले आफुलाई बिजवनिया सेन्टरमाथि विश्वास लागेको खातुनका श्रीमान गद्दीले बताउनुभयो ।