पर्सागढीमा निःशुल्क आँखा शिविर सम्पन्न
वीरगञ्ज, ६ असार । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर २ मा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । पर्सागढी नगरपालिकाको सहयोग तथा वीरगन्ज सामुदायिक आँखा अस्पतालको आयोजनामा वडा नम्बर २ मनवामा भएको आँखा शिविरमा १०७ जना आँखा परीक्षण गरिएको छ ।
आँखा परीक्षण गराएकाहरु मध्य १७ जनामा मोतियाविन्दुुको समस्या देखा परेको वीरगन्ज आँखा अस्पतालका मेडिकल कोअर्डिनेटर महेशसिंह धामीले जानकारी दिनुभयो । पर्सागढी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष विरेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा आयोजित शिविरमा आँखा अस्पतालकी नयन यादव लगायतले आँखा परीक्षण गरेका थिए ।
आँखा परीक्षण गरिएकाहरुलाई आवश्यक औषधि वितरण गर्नुका साथै मोतियाविन्दुको समस्या भएकाहरुलाई पर्सागढी नगरपालिकाको आर्थिक सहयोगमा वीरगन्ज सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने मेडिकल कोअर्डिनेटर धामीले बताउनुभयो ।