वीरगन्ज महानगरपालिकाले ल्यायो १ अर्ब २२ करोड कम बजेट
वीरगन्ज, ६ असार । वीरगन्ज महानगरपालिकाले बुधबार सम्पन्न १३ औं अधिवेशनले आगामी आर्थिक बर्षका लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैंयाको बजेट ल्याएको छ । यसअघि नगरसभाको १२ औं अधिवेशनले चालु आ.व.का लागि ३ अर्ब ३३ करोड ६३ लाख २ हजार बराबरको बजेट ल्याएको थियो ।
त्यसपछि विशेष अधिवेशन मार्फत ४ अर्ब ४४ करोड ३४ लाख ४ हजार पु¥याएको थियो । आगामी आर्थिक बर्षका लागि भने बजेट घटेर आएको हो । वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले प्रस्तुत गरेको कूल विनियोजित बजेट मध्य चालूतर्फ २ अर्ब ४८ करोड ८५ लाख ५ हजार अर्थात ७७ प्रतिशत, पूँजीगततर्फ ६८ करोड ८७ लाख १५ हजा अर्थात २२ प्रतिशत र वित्तीय व्यावस्थातर्फ ३ करोड ६३ लाख २४ हजार अर्थात १ प्रतिशत रहेको छ ।
महानगरपालिकाले आगामी आर्थिक बर्षको लागि प्रस्तुत गरेको बजेट मध्य आन्तरिक राजस्वबाट १ अर्ब २० करोड ४४ लाख ३० हजार र नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब ३३ करोड २१ लाख, संघीय राजस्व बाँडफाँडबाट २५ करोड २४ लाख ७० हजार, प्रदेश वित्तीय हस्तान्तरणबाट ४ करोड ४५ लाख ९५ हजार र प्रदेश राजस्व बाँडफाँडबाट २ करोड ८७ लाख खर्च व्यहोर्ने जनाएको छ ।
तर, चालू आर्थिक बर्षमा राजस्व संकलनको अवस्था हेर्दा कूल राजस्व परिचालन ७० करोड संसोधित अनुमान गरेको छ । समानीकरण अनुदान अन्तिम त्रैमासिकको ५० प्रतिशत कटौती, सशर्त अनुदान २० प्रतिशत कटौती, संघीय सरकारको राजस्व असुलीमा आएको संकुचनका कारण राजस्व बाँडफाँड घटेको, भू–उपयोग ऐन बमोजिम भूमिको वर्गीकरण र प्रक्रिया नटुंगिदा जमिनको कित्ताकाट रोकिएर घरजग्गा रजिष्ट्रेशन आयस्रोत समेत घटेकोले राजस्व कमजोर भएको उल्लेख छ ।
बजेटमा कृषि तथा पशुपालनका लागि १ करोड ७६ लाख, शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न सामुदायिक विद्यालय स्वयंसेवक शिक्षक कार्यक्रम सञ्चालन गर्नका लागि ४ करोड ७५ लाख विनियोजन गरेको छ । विद्यालयहरुमा सुविधायुक्त विज्ञान प्रयोगशाला, स्मार्ट कक्षाको अवधारणा लागू गर्न, महानगरपालिका भित्र प्राविधिक शिक्षालय स्थापना गर्न पहल गर्ने लगायतका लागि शिक्षा क्षेत्रमा १२ करोड २० लाख विनियोजन गरेको छ ।
स्वास्थ्य क्षेत्रमा आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ एवं विकेन्द्रित रुपबाट उपलब्ध गराउन स्वास्थ्य चौकीहरुमा विशेषज्ञ सहितको ओपीडी सेवा सञ्चालन गने र विकेन्द्रित स्वास्थ्य सेवाका लागि ३ करोड ७५ लाख, लामखुट्टे मुक्त अभिानका लागि ३५ लाख, ‘म सफा गर्छु मेरो घर आँगन, स्वच्छ, सुन्दर नगर अभियान’ सञ्चालन गर्ने, आवासक्षेत्र सरसफाईमा सबै नगरवासीको सक्रिय सहभागिता जुटाईने र यसका लागि उत्कृष्ट सफाई घर परिवार पहिचान गरी पुरस्कृत गरिने योजना ल्याएको छ ।
ल्याण्डफिल साईट र ग्रीन हस्पिटल वेस्ट म्यानेजमेण्ट सेण्टरलाई व्यवस्थित गरी यसबाट थप आय आजर्न हुने व्यावस्था मिलाईने, शहरका विभिन्न स्थानहरुमा वाटर एटीएम सञ्चालन गरिने, ढल प्रशोधन केन्द्रलाई पूर्ण रुपमा सञ्चालन ल्याउनका लागि समग्र खानेपानी तथा सरसफाई क्षेत्रमा १२ करोड छुट्याएको छ ।
नयाँ खेल पूर्वाधारहरुको निर्माण र खेलमैदा मर्मत सम्भारका लागि खेलकुद क्षेत्रमा १ करोड, यातायात पूर्वाधार क्षेत्रको लागि ५९ करोड विनियोजन गरेको छ । यसले अन्तर वडा जोड्ने शहरी सडकको कम्तीमा ३० फिट मापदण्ड तोकी गुणस्तरीय यातायात पूर्वाधार विकास गर्दै ग्रामीण वडाहरुलाई आधुनिक शहर केन्द्रसँग सञ्जालीकृत गर्ने बजेटमा उल्लेख गरेको छ ।
नेपालको इतिहासमा भएका विभिन्न हत्याकाण्ड मध्य निकै चर्चामा रहेको पर्साको अलौ पर्व भएको स्थान वीरगन्ज महानगरपालिकाको वडा नम्बर १७ अलौंमा ऐतिहासिक अलौ संग्राहलय निर्माण गरी यसको ऐतिहासिक महत्व उजागर गरी वीरगन्जको गौरव बढाउनका लागि २० लाख रुपैंया विनियोजन गरेको छ ।
सम्पत्ति कर तथा भूमिकर असोज मसान्तभित्र बुझाएमा १० प्रतिशत र पौष मसान्तभित्र बुझाएमा ५ प्रतिशत छुट, विद्यालय, कलेज (मेडिकल कलेज बाहेक), अस्पताल, सपिङ्ग मल, होटल, उद्योग, कलकारखानाहरुलाई दिदै आएको छुट कायम राखिएको छ । कृषिजन्य उद्योगहरुलाई व्यावसाय करमा दिँदै आएको ५० प्रतिशत छुटलाई निरन्तरता, स्वास्थ्यमा हानि पुर्याउने मदिरा, गुटखा, तम्बाखु, फलाम, सिमेण्ट, जङ्कफुड, पेण्ट्स र ईंट्टा उद्योगलाई व्यावसाय करमा ५० प्रतिशत थप कर लिने नीति लिएको छ ।
महानगरभित्र सञ्चालित ईट्टा उद्योगहरुले उत्पादन गरेको प्रति ईट्टामा १५ पैसा प्रदूषण सेवा शुल्क लाग्ने भएको छ । सार्वजनिक स्थलमा जथाभावी फोहोर फाल्नेलाई न्यूनतम ५०० देखि ५ हजार रुपैंया सम्म जरिवानाको व्यावस्था गरेको छ । आगामी आर्थिक बर्षदेखि सवारी सेवा शुल्कको असुलीको व्यावस्था गरेको छ ।
बजेटको पूर्णपाठ