वीरगन्ज कारागारका १९ जना कैदीबन्दी छुटे 

वीरगन्ज कारागारका १९ जना कैदीबन्दी छुटे 

वीरगन्ज, १५ जेठ । गणतन्त्र दिवसको अवसरमा वीरगन्ज कारागारबाट १९ जना कैदीबन्दी रिहा भएका छन् । विभिन्न मुद्दामा कैदी जीवन विताईरहेका १४ जनालाई कैद मिनाहा र ५ जनालाई आममाफी पाएर रिहा भएको वीरगन्ज कारागारका सूचना अधिकारी नवराज बर्तौलाले जानकारी दिनुभयो ।

चालचलनमा सुधार र भुक्तान हुनुपर्ने कैद समयको पचास प्रतिशत भुक्तान गरिसकेकाहरुलाई सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाह र आममाफी दिएपछि रिहा गरिको सूचना अधिकार बर्तौलाले बताउनुभयो । सवारी ज्यान मुद्दाका, चोरी मुद्दा, हातहतियार, ज्यान मार्ने उद्योग, मानिसको लापरवाहीले ज्यान गएको, वन पैदावार, चोरी लगायतका गरि जम्मा १९ जना रिहा भएको हो ।

कैद मिनाहा हुनेहरुमा रामसिंह राय थारु, ओमप्रकाश सहनी मलाहा, प्रकाश कार्की, चन्दन कुमार, श्याम महतो कोईरी, नागेन्द्र प्रसाद कलवार, प्रज्जवल तिवारी लगायतका रहेका छन् । भने आममाफी पाउनेतर्फबाट प्रमोद महतो, रामप्रसाद साह कानु, राजेश्वरप्रसाद साह कानु, जोगिन्दर सिंह राजपुत र मुनिलाल साह कानु रहेका छन् ।

गणतन्त्र तथा प्रजातन्त्र दिवसको अवसरमा चालचलनमा सुधार र ५० प्रतिशत सजाय कटाईसकेकालाई राष्ट्रपतिले कैद मिनाह र आममाफी दिएपछि कारागारले रिहा गर्ने चलन छ ।