फाईजर खोप लगाउन शुरु, पर्सामा १२ जना दीर्घ रोगीले लगाए
वीरगन्ज, २९ कार्तिक । १२ वर्षमाथिका र दीर्घ रोगीको समूह निर्धारण गरेर देशभर शुरु गरिएको फाईजर खोप लगाउनेहरुको संख्या पर्सामा कम पाईएको छ । हिजोदेखि शुरु गरिएको खोप अभियान अन्तर्गत फाईजर खोप नारायणी अस्पतालमा लगाउने व्यावस्था गरिएको छ ।
तर, हिजो पहिलो दिन पर्साका दीर्घ रोगीहरु १२ जनाले मात्रै फाईजर खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख नवल किशोर साहले बताउनुभयो । फाईजर खोप १२ वर्ष माथिका बालबालिकालाई समेत लगाउन मिल्छ ।
तर, अहिले सरकारले दीर्घरोगीहरुलाई नारायणी अस्पताललाई मात्रै सरकारले फाईजर खोप केन्द्रको रुपमा तोकेको छ । अस्पतालमा चिकित्सक सहित ४ जना कर्मचारी खोप लगाउनका लागि खटिएका छन् । पर्सामा २ हजार ४ सय फाईजर खोपको कोटा पाएकोमा अहिले एकहजार पाँचसय खोप मात्रै आएको उहाँले बताउनुभयो ।
त्यसमध्य जम्मा १२ जनाले मात्रै हिजो खोप लगाएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय पर्साका अनुसार पर्सामा १ लाख ६ हजार २ सय ७७ जनाले कोभिसिल्ड, भेरोसेल, जोनसन र अष्ट्राजेनेकाको खोपको पुरा मात्रा लगाईसेका छन् । यो लक्ष्यको २३.८६ प्रतिशत हो । पर्सामा १९ वर्ष भन्दा माथिका खोप लगाउने लक्षित समूहको जनसंख्या ४ लाख ४५ हजार ३ सय ६८ छ ।