पर्सामा खोप अभियान सञ्चालन गरिने
वीरगन्ज, २१ मंसिर । कोरोना भाईरस संक्रमणको अर्को उत्परिवर्तन (ओमिकर्न) भाईरसको जोखिमबाट जोगिनका लागि सीमामा उच्च सतर्कता अपनाईएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो ।
जिल्ला खोप समन्वय केन्द्र पर्साका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकार उमेश कुमार ढकालले आफ्नै कार्यकक्षमा आयोजना गरेको पत्रकार सम्मेलनमा सीमा नाकामा भारतबाट आउनेहरुको परीक्षणको व्यावस्था गरिनुका साथै १८ बर्ष भन्दा
माथिका सबैलाई खोप लगाउने अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।
स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउदै प्रभावकारी कार्यान्वयनका लागि सबैलाई मास्क अनिवार्य रुपमा लगाउन आग्रह गर्दै कसैले मास्क लगाउन अटेर गरेमा कारवाही स्वरुप जरिवाना समेत गरिने उहाँले बताउनुभयो । जिल्ला कोभिड संकट व्यावस्थापन केन्द्र
(डीसीसीएमसी) का संयोजक तथा जिल्ला खोप समन्वय समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी ढकालले सीमामा परीक्षण र जिल्लामा खोप अभियानलाई सँगसँगै सुरु गरिएको बताउनुभयो ।
पर्सा जिल्ला कोरोना संक्रमणको पटक पटक केन्द्र बनिसकेको अवस्थामा नयाँ भेरियण्टको पनि उच्च जोखिममा रहेको आमसमुदायले समेत बुझ्नुपर्ने बताउदै प्रमुख जिल्ला अधिकारी ढकालले नयाँ भेरियण्ट भित्रिन नदिन र भित्री हालेमा त्यस्ता संक्रमितहरुको उपचारका लागि तयारी अवस्थामा रहेको पनि जानकारी दिनुभयो ।
१८ बर्ष भन्दामाथिका ४ लाख ४५ हजार ३ सय ६८ जना लक्षित जनसंख्या मध्य २ं९.६७ प्रतिशतले मात्रै खोप लगाएको स्वास्थ्य कार्यालय पर्साका अधिकृत ठाकुरले बताउनुभयो । जिल्ला खोप समन्वय समितिले पौष मसान्तसम्ममा ६६ प्रतिशतलाई खोप लगाउने लक्ष्य सहित अभियान अगाडि बढाईएको खोप समन्वय समितिका संयोजक प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताउनुभयो ।
पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी ढकाल सहित प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अुनप तिवारी लगायतको उपस्थिति रहेको थियो ।
पर्साको ग्रामीण क्षेत्रका स्थानीय तहहरुमा खोपलाई खासै महत्व नदिईएको पाईएको भन्दै स्वास्थय अधिकृत जयमोद ठाकुरले अभियानलाई सफल बनाउन विभिन्न राजनीतिक दलहरु, समाजसेवी, नागरिकसमाज सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।