महानगर प्रमुख सरावगी सहित विभिन्न संघ संस्था र व्यक्ति सम्मानित

महानगर प्रमुख सरावगी सहित विभिन्न संघ संस्था र व्यक्ति सम्मानित

वीरगन्ज, ९ फागुन । नारायणी अस्पतालले वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी सहित विभिन्न संघ संस्था र व्यक्तिहरुलाई सम्मान गरेको छ । नारायणी अस्पताल सञ्चालनका लागि विभिन्न क्षेत्रबाट सहयोग गर्ने संघ संस्था तथा व्यक्तिहरुलाई सम्मान गरेको हो ।

महानगर प्रमुख सरावगीले कोभिड संक्रमण नियन्त्रण र व्यावस्थापनमा खेलेको भूमिका तथा नारायणी अस्पताल व्यावस्थापनमा गरेको सहयोगको स्वरुप महानगर प्रमुख सरावगीलाई सम्मान गरेको हो । नगर प्रमुख सरावगीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सम्मानपत्र सहित सम्मान गर्नुभएको हो ।

त्यस्तै महानगरकै सरसफाई शाखाका इन्चार्ज सर्फुद्दिन मियाँ, नेपाल फार्मस्यूटिकल्स प्रालि, सूर्या नेपाल प्रालि लगायतका विभिन्न संघ संस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको छ । नारायणी अस्पतालले अस्पताल संचालन र कोभिड महामारी नियन्त्रणमा भौतिक, आर्थिक तथा नैतिक सहयोग गर्नेहरुलाई सम्मान गरेको नारायणी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डाक्टर बिरेन्द्र बहादुर प्रधानले बताउनुभयो ।

नारायणी अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्र किशोर लाभको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा.पुष्पा कर्ण, संविधानसभा सदस्यहरु रामचन्द्र साह, अजय द्विवेदी, नागेन्द्र चौधरी, प्रदेशसभा सदस्य करिमा बेगम, एकीकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापा, लोसपाका अध्यक्ष पुरुषोत्तमलाल झा, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल,

प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत, नेपाली सेना चण्डी प्रसाद गणका गणपति प्रमुख सेनानी मनोज कार्की, राष्ट्रिय अनुसन्धानका अनुसन्धान उपनिर्देशक दिपक खड्का लगायत राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, अस्पतालका कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चाल स्टाफ नर्स श्रुती साहले गर्नुभएको थियो ।