नागरिकको रक्षा सरकारको दायित्व हो भन्ने बुझेका छौं : मन्त्री खतिवडा

नागरिकको रक्षा सरकारको दायित्व हो भन्ने बुझेका छौं : मन्त्री खतिवडा

वीरगन्ज, ९ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कोभिड विरुद्धको खोप सबै नागरिकलाई लगाउने सरकारको योजना रहेको बताउनुभएको छ ।

सोमबार वीरगञ्जको नारायणी अस्पताल परिसरमा विशिष्ट हृदयरोग उपचार भवन (क्याथ ल्याब), आकस्मिक भवन र कोभिड–१९ उपचार भवनको शिलान्यास गर्दै  मन्त्री खतिवडाले कुनैपनि नागरिकलाई खोप अभाव हुन नदिन सरकारले अभियान नै संचालन गरिएको बताउनुभयो।

उहाँले फागुन १ गतेदेखि अतिरक्ति अर्थात बुष्टर डोजको खोप पनि लगाउन शुरु गरिएको जानकारी दिदै सबैलाई कोभिड विरुद्धको खोप लगाउनु पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “पर्याप्त खोपको व्यावस्था गरेका छौं, पहिलो डोज नलगाउने पनि लगाउनुहोस, दोश्रो डोज लगाउन बाँकी रहेकाहरुले पनि लगाउनुहोस, नागरिकको रक्षा गर्नु सरकारको दायित्व हो भन्ने बुझेका छौं ।” उहाँले वीरगन्ज आफूले माया गरेको ठाउँ भएकोले नारायणी अस्पतालका लागि आवश्यक उपकरणको पनि व्यावस्था गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।

कोभिडले अवसर पनि दिएको बताउदै मन्त्री खतिवडाले यसअघि स्वास्थ्य क्षेत्रमा ५/६ प्रतिशत मात्रै विनियोजन हुने गरेकोमा गत आर्थिक बर्षदेखि स्वास्थ्यक्षेत्रमा बजेट पनि बढेकोले देशभर ठूला ठूला स्वास्थ्य पूर्वाधारहरु निर्माण भईरहेको बताउनुभयो ।

 गाउँगाउँमा स्वास्थ्य सेवाको सहज पहुँच पु-याउने योजनामा सरकार अगाडि बढेको बताउनुभयो । उहाँले वीरगन्ज चितवन र हेटौंडा भन्दा अघि नै स्वास्थ्य क्षेत्रको विकास हुनुपर्ने ठाउँ भएपनि अहिलेसम्म पछि परेकोमा दुःख पनि व्यक्त गर्नुभयो ।

एमसीसी संसदमा छलफलपछि निर्णय हुन्छ 

नेपालको समसामयिक राजनीतिको विषयमा बोल्दै उहाँले एमसीसी संसदमा छलफलमा प्रवेश गरेकोले संसदबाटै टुंगो लाग्ने बताउनुभयो । संसदमा धेरै समय नरोकिने बताउनु भएको छ ।

उहाँले भन्नुभयो, “एमसीसीको विषयमा हरेक नागरिकले आ–आफ्नो धारणा बनाउन स्वतन्त्र छन् । एमसीसीमा संसदको बहुमतले जे निर्णय दिन्छ त्यही स्वीकार हुन्छ ।

‘संसदमा बहस, छलफलका लागि गएको छ । बहुमतले जे निर्णय दिन्छ, त्यही नै पारित गर्छ । मत राख्ने, या त सर्वसम्मत गर्ने, सर्वसम्मत हुन सकेन भने पांग्रा जाम भएर बस्दैन । ‘चाहे कुनै दल होस् वा संघ संस्था अन्तिम निर्णय गर्ने तरिका बहुमतको निर्णय मान्ने हो ।”

मन्त्री खतिवडाले एमसीसी सम्झौताका विषयमा राजनीतिक दल र सर्वसाधारणमा फरक फरक मत हुनु स्वाभाविक रहेको बताउदै ‘सन्धि सम्झौताका विषयमा, सरकार र पार्टीहरूले गरेका निर्णयका विषयमा समाज विभाजित हुनु, विभिन्न मत आउनु, पार्टीपिच्छे मत भिन्दै हुनु र नागरिक पिच्छेको राय हुनु अनौठो कुरा नरहेको उहाँको भनाई थियो ।

उहाँले भन्नुभयो,  ‘हामीले आ–आफ्नो मत जाहेर गर्नु पनि पर्छ । तर, मेरो मत नमान्ने हो भने आगो बालिदिन्छु, मोसो दलिदिन्छु्, आफ्नो मत नमानेको भनेर अर्कोलाई ठोक्ने अधिकार कसैलाई छैन ।’संविधानले कुनै अर्कोको मान्यता र विचार बोक्नेहरुलाई निषेध गर्न छुट दिएको छैन ।