९६ जनाको पीसीआर परीक्षणमा १५ जना संक्रमित, ३ जनाको मृत्यु
वीरगन्ज, ३१ जेठ । कोरोना भाईरस संक्रमणको दोश्रो भेरियण्टमा पनि इपीसेण्टर बनेको वीरगन्जमा पछिल्लो अवस्थामा भने केही सुधार आएको छ । कोरोना संक्रमण फैलिन नदिन लागू गरिएको निषेधाज्ञाले संक्रमणको श्रृंखलालाई तोड्ने क्रम जारी छ । पछिल्लो परीक्षणमा वीरगन्जमा १५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
पर्साबाट संकलन गरिएको ९६ वटा नमूना स्वाबको नारायणी अस्पतालको प्रयोगशालामा आईतबार गरिएको परीक्षणमा पर्साका ९ जना सहित १५ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका चिकित्सक डाक्टर उदय नारायण सिंहले जानकारी दिनुभयो । संक्रमित भएका मध्य पर्साका ९ जना, बाराका ३ जना, रौतहटका २ जना र सर्लाहीका १ जना रहेका डाक्टर सिंहले बताउनुभयो ।
संक्रमणले तीनजनाको मृत्यु
वीरगन्जमा गएको २४ घण्टामा थप तीनजनाको कोरोनाका कारण निधन भएको छ । रौतहटको देवाहीगोनाही ६ का ५५ बर्षीय पुरुष, सर्लाहीको इश्वरपुरका ६४ बषीय पुरुष र बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ का ६५ बर्षीय पुरुषको कोरोना संक्रमणको कारण मृत्यु भएको नारायणी अस्पतालका डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभयो ।
जेठ २९ गते नारायणी अस्पतालमा भर्ना भएका रौतहटका पुरुषमा जेठ १३ गते गौरमा नै परिक्षण गर्दा कोरोना संक्रमण भएको थियो । उनको ३० गते मध्यराति १२ बजेर १५ मिनेटमा उनको निधन भएको हो । त्यस्तै जेठ २२ गते अस्पतालमा भर्ना भएका सर्लाहीका पुरुषको सोही दिन पिसिआर परिक्षण गर्दा कोरोना पुष्टी भएको थियो ।
उनको आईतबार बिहान ५ बजेर ३० मिनेटमा मृत्यु भएको र जेठ २७ गते नारायणी अस्पतालमा भर्ना भएका बाराका पुरुषको पनि सोही दिन कोरोना पुष्टी भएको थियो । उनको आईतबार मध्यान्ह १२ बजे मृत्यु भएको डाक्टर सिंहले बताउनुभयो ।