सखुवा प्रसौनीमा जसपाको समिति पुर्नगठन
वीरगन्ज, २३ भदौ । जनता समाजवादी पार्टी (जसपा) पर्साले संगठन सुदृढीकरणलाई तिव्रता दिएको छ । संगठन निर्माण र सुदृढीकरण अभियानअन्र्तगत शनिवार पर्साको सखुवाप्रसौनी गाउँपालिकामा ३१ सदस्यीय पालिका समिति पुर्नगठन गरिएको छ ।
गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जैसवालको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गरिएको जसपा पर्साका सचिव तबरेज अहमदले जानकारी दिनुभयो । अहमदका अनुसार समितिमा श्रीराम पासवान, जयप्रकाश थारु, नाजिर हुसैन लगायत रहेका छन् ।
समिति पुर्नगठनका क्रममा जसपाका केन्द्रीय सदस्य फिरोज मन्सुरले जनता समाजवादी पार्टी परिवर्तनकारी पार्टी भएको दाबी गर्नुभयो । समाजवादको उद्देश्य जसपाले मात्रै हाँसिल गर्ने बताउँदै उनले सबैलाई जसपामा संगठीत हुन आह्वान गर्नुभयो ।
जसपा पर्साका अध्यक्ष रामनरेश यादवले संगठन निर्माण र सुदृढीकरणको विकल्प नरहेको बताउनुभयो । संगठन सुदृढीकरण भएमा मात्रै पार्टीका मुद्दा स्थापित हुने यादवको विश्वास छ । अहिले जसपा पर्सा संगठन निर्माण र बिस्तारकै क्रममा रहेको बताउँदै उनले २०८४ को निर्वाचनमा फेरी पर्सालाई जसपामय बनाउने दाबी गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस र नेकपा एमाले परित्याग गरेर २५ जना जसपामा प्रवेश गरेको जसपा पर्साका सचिव तबरेज अहमदले जानकारी दिनुभयो । नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथी जसपाका केन्द्रीय सदस्य फिरोज मन्सुुर, जसपा पर्साका अध्यक्ष रामनरेश यादव लगायतले अबिर र माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।
कार्यक्रमलाई जसपा पर्साकी कोषाध्यक्ष एवम् सखुवाप्रसौनी गाउँपालिका उपाध्यक्ष शर्मिला बिष्ट महतो, प्रदेश सभा समन्वय समितिका क्षेत्रीय अध्यक्ष उपेन्द्र यादव, सल्लाहकार शिवनाथ साह, श्रीराम गिरी, इकाई कमिटी अध्यक्ष अशोक साह, चिरञ्जीवि महतो, सद्धाम हुसैन, रुपलाल यादव लगायतको उपस्थिती रहेको थियो ।