गर्भवती महिलाहरुको निःशुल्क भिडियो एक्स–रे का लागि प्रभु हस्पिटलसँग सम्झौता
वीरगन्ज, २९ बैशाख । वीरगन्ज महानगरपालिका वडा नम्बर ८ ले गर्भवती महिलाहरुलाई निःशुल्क भिडियो एक्सरे गराईदिने भएको छ । वडा नम्बर ८ का वडा अध्यक्ष रितेश गुप्ताको पहलमा गर्भवती महिलाहरुलाई निःशुल्क भिडियो एक्स–रे गराईदिने भएको हो । यसको लागि वीरगन्ज महानगर पालिका वडा नम्बर ८ को कार्यालय र प्रभु हस्पिटल एण्ड रिसर्च प्रालिबीच सम्झौता भएको छ ।
वडा नम्बर ८ को कार्यालयमा आज बिहान भएको सम्झौता पत्रमा वडा नम्बर ८ को तर्फबाट वडा अध्यक्ष रितेश गुप्ता र वडा सचिव राजकुमार गुप्ताले हस्ताक्षर गर्नुभएको छ । प्रभु हस्पिटलको तर्फबाट सञ्चालक डाक्टर मनोज कुमार गुप्ता र डाक्टर लक्ष्मी थापा गुप्ताले हस्ताक्षर गर्नुभएको छ । सम्झौता पत्रमा वीरगन्ज महानगरपालिका वडा नम्बर ८ को वडा कार्यालयले सिफारिस गरेको आधारमा वडाका गर्भवती महिलाहरुलाई प्रति बिरामी ५९० रुपैंयाको दरले भिडियो एक्सरे गराउनु पर्नेछ ।
यसको भुक्तान वडा नम्बर ८ कार्यालयले गर्ने उल्लेख गरिएको छ । अल्ट्रा साउण्ड रेडियोलोजिष्ट बाटनै गर्नुपर्ने र अल्ट्रा साउण्ड गरिसकेपछि भुक्तानीको लागि प्रत्येक महिना वडा नम्बर ८ कार्यालयमा बिल पेश गर्नुपर्नेछ । यसको लागि वडा कार्यालयले २ लाख रुपैंया बजेट विनियोजन गरेको वडा सचिव राजकुमार गुप्ताले बताउनुभयो ।
सम्झौतापछि बोल्दै वडा अध्यक्ष रितेश गुप्ताले स्वास्थ्य उपचारकै अभावमा गर्भवती महिलाहरुलाई समस्या नहोस भनेर निःशुल्क भिडियो एक्स–रे को पहल गरेर प्रभु हस्पिटलसँग सम्झौता गरेको बताउनुभयो । स्वास्थ्यकर्मी रमण झाले गर्भवती महिलाहरुलाई भिडियो एक्स–रे अति आवश्यक रहेपनि कसैले त्यो सुविधा नदिएको जानकारी गराएको र उहाँकै कुराबाट प्रभावित भएर आफूले अल्ट्रा साउण्ड सेवा दिने पहल गरेको बताउनुभयो ।
रमण झा अहिले भौतिक रुपमा नरहेपनि उहाँको कुरा गर्भवती महिलाहरुका लागि निकै महत्वपूर्ण र गम्भीर विषय भएकाले नै यसमा वडाले कार्यक्रमलाई अगाडि बढाएको बताउनुभयो । प्रभु हस्पिटलका सञ्चालक डाक्टर मनोज गुप्ताले महिलाहरुको स्वास्थ्य जटिलता गर्भवतीको समयमा नै हुने भएको र पेटमा भएको बच्चाको स्वास्थ्य अवस्था जान्नका लागि भिडियो एक्सरे अनिवार्य रहेकोले पनि वडा कार्यालयले अगाडि ल्याएको कार्यक्रमले वडाका गर्भवती महिलाहरुलाई फाइदा हुने बताउनुभयो ।
उहाँले सरकारी अस्पतालमा गर्भवती महिलाहरुको चाप उत्तिकै हुने र समय पनि लाग्ने हुँदा निजी अस्पतालहरुमा वडा कार्यालयको पहलमा सेवा दिन पाउँदा निकै खुशी लागेको र सरकारी अस्पतालको भन्दापनि कम शुल्कमा गुणस्तरीय सेवा पाउने विश्वास दिलाउनुभयो ।
वडा अध्यक्ष रितेश गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा डाक्टर लक्ष्मी गुप्ता, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, वीरगन्ज महानगरपालिकाकी स्वास्थ्य शाखा संयोजक इन्दिरा लोहनी लगायतले पनि बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण प्रभु हस्पिटलका प्रशासकीय अधिकृत दिलिपराज कार्कीले गर्नुभएको थियो ।