दिनहुँ बरामद हुन्छ शंकास्पद विलविजक सहितको मालवाहक ट्रक, भन्सार कर्मचारीको मिलेमतोको आशंका
वीरगन्ज, २७ बैशाख । भन्सार छलेर विल विजक भन्दा बढी सामान लोड रहेको आशंकामा पर्सा प्रहरीले नियन्त्रणमा लिएको ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको छ । बैशाख २४ गते आईतबार एकीकृत भन्सार जाँच चौंकी (आईसीपी) गेट हुदै विरगञ्ज पावरहाउस चोकतर्फ आउदै गरेको DD01 9689 नम्बरको भारतीय मालवाहक कन्टेनर ट्रकमा बिल विजक भन्दा बढीको सामान लोड भएको सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. २५ चण्डालचोक स्थित सडकखण्डबाट नियन्त्रणमा लिएको थियो ।
प्रहरीले नियन्त्रणमा लिएको ट्रकमा बिल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको पाईएको र विल बिजक शकास्पद देखिएकोले थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिनुभयो । लोड रहेको सामान र ट्रक सहितको मूल्य अनुमानित ३७ लाख रुपैंया मूल्यांकन गरिएको प्रहरीको भनाई छ ।
त्यस्तै सोही दिन वडा प्रहरी कार्यालय वीर्ताले पनि विल विजक भन्दा बढी विभिन्न किसिमका लत्ता कपडा लोड रहेको एउटा ट्रक नियन्त्रणमा लिएको छ । विरगञ्जबाट हेटौडातर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख.३३२ नम्बरको मालवाहक ट्रकलाई वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.०८ घण्टाघरस्थित सडकखण्डबाट नियन्त्रणमा लिएका थियो । उक्त ट्रकमा पनि विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको र विल बिजक शंकास्पद देखिएकोले आवश्यक अनुसन्धान र कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताउनुभयो ।
सामान सहितको ट्रकको मूल्य ५२ लाख ३४ हजार ७१७ रुपैंया अनुमानित मूल्यांकन गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जनाएको छ । बिल विजक शंकास्पद रहेको मालबाहक ट्रक दिनहुँ बरामद हुँदा भन्सार कर्मचारीहरुको मिलेमतोको आशंका छ । सरकारले राजस्व चुहावट नियन्त्रणका लागि भन्सार क्षेत्रमा सशस्त्र प्रहरीलाई समेत खटाएको छ ।
मालवाक सवारी साधन निगरानी प्रणाली (भीसीटीएस) समेत लागू गरेको छ । तर, राज्यले लागू गरेको कानून र प्रविधिलाई नै चुनौती दिदै बिलविजक भन्दा बढी सामान लोड गरेर निर्धक्क गुडेको सवारी साधन मुख्य सडकहरुबाटै नियन्त्रणमा लिनुपर्ने अवस्थाले भन्सार कर्मचारीहरुको समेत मिलेमतो हुनसक्ने आशंका गरिएको छ । यद्यपि अहिले भन्सारका अधिकांश काम अनलाईनकै माध्यममा हुने गरेको छ । तरपनि केही यस्ता मालवस्तुहरु छन् जुन् मालवस्तुहरु भन्सार कर्मचारी र तस्करहरुलाई भने कमाउने माध्यम बन्ने गरेको छ ।