सातौं प्याब्सन टी–२० किक्रेटमा आदर्श, साउथ जोन र गौतम विजयी
वीरगन्ज, ९ माघ । सातौं प्याब्सन अन्तर विद्यालय नकआउट क्रिकेट प्रतियोगितामा सोमबार भएका खेलमा आदर्श मावि, साउथ जोन मावि र गौतम मावि विजयी भएका छन् । सोमबार भएको खेलमा न्यू वेभ एकेडेमीलाई ८ विकेटले पराजित गर्दै आदर्श मावि क्वार्टर फाईनलमा प्रवेश गरेको हो ।
टस जितेर ब्याटिङ रोजेको न्यू वेभले पुरै १४.५ ओभर खेलेर १० विकेटको क्षतिमा मा ५९ रन बनाएको थियो । ६० रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको आदर्शले मात्र २ विकेटको क्षतिमा ६.५ ओभर खेलेर लक्ष्य पार गरेपछि विजयी भएको हो । खेलमा ३ विकेट लिन सफल न्यू वेभका सोनु पटेल म्यान अफ दी म्याच घोषित भए ।
त्यस्तै, दोस्रो प्रि क्वाटर फाईनल चरणको खेलमा साउथ जोन माविले मस्कोट एकेडेमीलाई ९ विकेटले पराजित गर्दै क्वाटर फाईनलमा स्थान सुरक्षित गरेको हो । टस जितेर ब्याटिङ रोजेको मस्कोटले पुरै १५ ओभरमा ४ विकेटको नोक्सानीमा मात्र ६५ रन बनाएकोमा जवाफी ब्याटिङ गरेको साउन जोनले ८।२ ओभर खेल्दै मात्र १ विकेटको नोक्सानीमा निर्धारित लक्ष्य पूरा गरेपछि विजयी भएको हो ।
खेलमा ३५ रनको योगदान दिएका साउथ जोनका अमित कुशवाहा म्यान अफ द म्याच घोषित भए । तेश्रो प्रि क्वाटर फाईनल खेलमा विकन माविलाई १ विकेटले पराजित गर्दै गौतम मावि विजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको बिकनले पुरै १४.२ ओभरमा पुरै विकेट खर्चेर ७९ रन बनाएकोमा जवाफी ब्याटिङ गरेको गौतमले १२.१ ओभर खेल्दै मात्र ९ विकेटको नोक्सानीमा निर्धारित पार गर्दै ८३ बनाएपछि विजयी भएको हो ।
खेलमा ३ ओभरमा ३ विकेट लिएर योगदान दिएका गौतमका रितेश कुमार सर्राफ म्यान अफ द म्याच घोषित भए । मंगलबार पनि प्रि क्वाटर फाईनल चरणका तीन खेल हुने प्याब्सनका प्रवक्ता अशोक संग्रौलाले जानकारी दिए ।
मंगलबार ज्ञानदा एकेडेमी र एमईएस स्कूल, मुनलाईट र हिमालयन पिरामिड तथा लिटल एन्जल्स मावि र ज्ञानज्योति मावि बीच खेलहरु हुने प्रवक्ता संग्रौलाले जानकारी दिए । माघ १४ गतेसम्म संचालन हुने प्रतियोगितामा वीरगञ्जका २५ वटा विद्यालयको सहभागीता छ । प्रतियोगितामा विजयी हुने टिमले शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।