उपनिर्वाचन : तनहुँ– १ मा स्वर्णिमको अग्रता कायम, बारामा सर्वदलीय बैठक बस्दै, चितवनमा बैठकमा ढिलाई 

उपनिर्वाचन : तनहुँ– १ मा स्वर्णिमको अग्रता कायम, बारामा सर्वदलीय बैठक बस्दै, चितवनमा बैठकमा ढिलाई 

वीरगन्ज, ११ बैशाख । आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको  मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर भन्दा बढी मतले अग्रता लिनु भएको छ । गएराति पौने एघार बजेदेखि मतगणना सुरु भएकामा केहीबेर अघिसम्म १३ हजार ६५ मतगणना हुँदाको नतिजाअनुसार रास्वपाका डा वाग्लेले सात हजार २९३ मत सहित अग्रता लिरहनुभएको छ ।

नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३ हजार २३४ र नेकपा एमालेका सर्वेन्द्र खनालले २ हजार १३४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिनुभयो । तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना कार्य जारी छ ।

यसैबीच बारा–२ को मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । सर्वदलीय बैठकमा सहमति जुटेसँगै मतगणना सुरु गर्ने तयारी छ ।  हिजो सम्पन्न उपनिर्वाचनको मतपेटिका सङ्कलन राति नै सकिएको र सर्वदलीय बैठक सकिएसँगै गणना सुरु गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो ।

सर्वदलीय बैठकले गर्ने निर्णयको आधारमा मतगणना सुरु गरिने उहाँको भनाइ छ ।  बारा २ को  मतगणना शिक्षा तालिम केन्द्र, कलैयामा हुनेछ । बारामा करिब ६३ प्रतिशत मतदान खसेको थियो ।

यस्तै चितवन क्षेत्र नं २ को मतगणना सुरु गर्न आज बिहान ८ बजेको लागि बोलाइएको सर्वपक्षीय बैठक अझै बस्न सकेको छैन । दलका प्रतिनिधिहरु मतगणना स्थलमा नपुगेपछि सर्वपक्षीय बैठक बस्न ढिलाई भएको हो ।

यद्यपि नेपाली कांग्रेसले रास्वपाका सभापति रवि लामिछानेले निर्वाचन आचार संहिता उल्लंघन गरेको विरुद्ध दिएको उजुरीको निर्णय नभएसम्म मतगणना नहुने अडान लिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान ८ बजे बस्ने गरी बैठक आह्वान गरेको थियो । चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा मतगणना हुँदै छ ।