उत्पत्तिको प्रमाणपत्र अनलाईन मार्फत जारी गर्ने भन्सार विभागको तयारी  

उत्पत्तिको प्रमाणपत्र अनलाईन मार्फत जारी गर्ने भन्सार विभागको तयारी  

वीरगन्ज, २२ भदौ । नेपालमा उत्पादित वस्तु निर्यात गर्दा आवश्यक उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन) सिओ अनलाईन मार्फत प्रविष्ट गर्ने सरकारले तयारी गरेको छ । भन्सार विभागले उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन) लाई एकद्वार प्रणाली (सिङ्गल विन्डो सिस्टम) मार्फत् अनलाईन इन्ट्री गर्न उद्योग वाणिज्य सङ्घका कर्मचारीहरुलाई तालिम प्रदान गरिएको छ ।  

अनलाईन मार्फत् उत्पत्तिको प्रमाणपत्र जारी गर्ने गरी पहल गर्न र सो सम्बन्धमा निर्यातकर्ता र उद्योग वाणिज्य सङ्घहरुको भूमिकाका बारे प्राविधिकहरुले वीरगन्ज उद्योग वाणिज्य संघमा दुई दिने तालिम समेत उपलब्ध गराएको हो । वीरगन्ज नाका हुदै निर्यात गर्ने निर्यातकर्ता र जारी गर्ने संस्था उद्योग वाणिज्य सङ्घका सचिवालयका कर्मचारीहरुलाई अनलाईन जारी गर्दा अवलम्बन गर्नुपर्ने प्रक्रियाका सम्बन्धमा भंसार विभागका प्रविधि विज्ञ र नेपाल उद्योग वाणिज्य महासङ्घका प्राविधिक सम्मिलित टोलीले दिएको दुईदिने तालिम सम्पन्न भएको छ । 

तालिम पश्चात आयोजित कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले अनलाईन मार्फत उत्पत्तिको प्रमाणपत्र जारी गर्ने भंसार विभागले गरेको तयारीलाई सफल बनाउन वीरगञ्ज उद्योग वाणिज्य सङ्घको हरसहयोग रहने बताए । उनले विभागले उपलब्ध गराएको दुईदिने तालिमले उद्योग वाणिज्य सङ्घका कर्मचारी र निर्यातकर्ताहरुलाई धेरै सहज भएको र आगामी दिनमा पनि यस सम्बन्धमा तालिम÷प्रशिक्षण भई रहनु पर्नेमा जोड दिए ।


कार्यक्रममा भंसार विभागका उपमहानिर्देशक श्यामप्रसाद भण्डारी, वीरगञ्ज भंसारका मुख्य प्रशासक विश्वप्रकाश अर्याल र भंसार विभागका निर्देशक सूर्यप्रसाद सेढाईले अनलाईन तथा सिङ्गल विन्डो सिस्टमका बारे विस्तृत रुपमा जानकारी गराउँदै यसअघि गर्दै आएको म्यानुअल काम भन्दा समय र लागत कम हुने बताए । 


कार्य सम्पादनमा लागत तथा झन्झट र सरकार तथा सेवाग्राही दुवै पक्ष सन्तुष्ट नरहने हुँदा अनलाईन÷सिङ्गल विन्डो सिस्टमले विगतमा कर्मचारीहरुले आफ्नो टेबलमा आएको फाइल थन्काएर काम नगर्ने प्रवृत्तिलाई समेत निरुत्साहित गर्ने बताए । सेवाग्राहीहरुले आफ्नो काम सहजतापूर्वक कम समय र कम लागतमा सम्पादन गर्ने र कर्मचारीलाई जिम्मेवार र उत्तरदायी बनाउने भएकोले यसको महत्व र उपयोगिता बढेर गएको धारणा व्यक्त गरेका थिए । 


पर्सा–बाराका उद्योग प्रतिष्ठानका कर्मचारी र वीरगन्ज उद्योग वाणिज्य संघका कर्मचारीहरु गरी २० जनाको तालिममा सहभागिता रहेको थियो । तालिममा प्रशिक्षक धनबहादुर प्रजापति, मिलाप श्रेष्ठ, अरुण पौडेल, ईश्वरकुमार सिंह, अर्जुन श्रेष्ठले प्रशिक्षण दिएका थिए । कार्यक्रमको सहजीकरण मनोज उपाध्यायले गरेका थिए । 


यस अघि वीरगञ्ज उद्योग वाणिज्य सङ्घले भंसार विभागका उपमहानिर्देशक श्यामप्रसाद भण्डारी, निर्देशक सूर्यप्रसाद सेढाई तथा वीरगञ्ज भंसारका मुख्य भंसार प्रशासक विश्वप्रकाश अर्यालसँग सङ्घकै कार्यकक्षमा भेटघाट गरी भंसार लगायत व्यापार सहजीकरणका बारे विस्तृत छलफल गर्दै अनलाईन उत्पत्तिको प्रमाणपत्र जारी गर्ने विषयमा व्यापक छलफल र अन्तरक्रिया गरेको थियो ।