वीरगन्ज भन्सार एजेण्ट संघको आन्दोलन स्थगित
वीरगन्ज, ११ माघ । वीरगन्ज एजेण्ट संघको आन्दोलन स्थगित भएको छ । भन्सार जाँचपास भएको मालवाहक ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएर ज्यादती गरेको भन्दै भन्सार एजेण्ट संघले बुधबारदेखि भन्सार कार्यालयबाट जाँचपास बन्द गर्ने निर्णय गरेको थियो ।
भन्सार एजेण्ट संघले आन्दोलनको घोषणा गरेपछि वीरगन्ज भन्सार कार्यालय (आईसीपी) का निमित्त प्रशासक राजेन्द्र प्रसाद चुँडालले भन्सार एजेण्टका प्रतिनिधिहरुसँग मंगलबार साँझ नै बसेर समस्याको समाधान गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगित गरिएको संघका कार्यालय सचिव विनोद परियारले हस्ताक्षर गरेको विज्ञप्तिमा जनाएको छ ।
पर्सा जिल्लामा नयाँ प्रहरी प्रमुख आएपछि अपराध अनुसन्धानमा कार्यरत प्रहरी कर्मचारीहरुले काम देखाउने नाममा भन्सारबाट जाँचपास भएर छुटेका गाडीहरुलाई पनि विलविजक भन्दा बढी सामान लोड गरेको भन्दै नियन्त्रणमा लिएर दुख दिने गरेको एक भन्सार एजेण्टहरुको भनाई छ ।
अधिकार क्षेत्रभन्दा बाहिर अनावश्यक प्रहरीले गाडी नियन्त्रणमा लिँदा लोड अनलोड खर्च, गाडी डिटेन्सन खर्च र मानसिक तनाव बढेको भन्दै एजेण्टहरुले । काम गर्ने वातावरण छैन् । सहज रुपमा काम गर्ने वातावरण बनाई दिनका लागि एजेन्ट संघले मंगलबार वीरगन्ज भन्सार कार्यालयमा निवेदन दर्ता गराएको थियो ।
निवेदन दर्ता भएपछि तत्काल निमिक्त प्रशासक चुँडालले सम्बन्धित निकायहरुमा जानकारी गराई उप्रान्त त्यस्तो समस्या हुन नदिने आश्वासन दिएपछि आन्दोलन स्थगित गरेको भन्सार एजेण्ट संघका सहसचिव भानुभक्त अधिकारीले जानकारी दिनुभयो । वीरगन्ज (आईसीपी) भन्सार कार्यालयका निमित्त प्रशासक राजेन्द्र प्रसाद चुँडालले पनि भन्सार प्रतिनिधिहरुको समस्या बुझेर भन्सार जस्तो दैनिक राजस्व संकलन हुने ठाउँमा अवरोध हुनु हुन्न भनेर तत्काल समस्या समाधानको पहल गरेको बताउनुभयो ।
राज्यलाई दैनिक ७० करोडको राजस्व संकलन हुने नाकामा काम अवरुद्ध हुँदा राज्यलाई पनि नोक्सानी हुने भएकोले यसमा तत्काल समस्या समाधान गर्ने छलफल माफर्त सहमति गरिएको बताउनुभयो ।