राजस्व छलिमा भन्सार कर्मचारीको मिलेमतोले सीमा नाघ्यो, ट्रक र ट्याक्टरमा बिलविजक भन्दा बढीको सामान बरामद

राजस्व छलिमा भन्सार कर्मचारीको मिलेमतोले सीमा नाघ्यो, ट्रक र ट्याक्टरमा बिलविजक भन्दा बढीको सामान बरामद

वीरगन्ज, ३ जेठ । जिल्ला प्रहरी कार्यालय पर्साले बिल विजक भन्दा बढी सामान लोड गरेको सामान सहितको ट्रक र ट्याक्टर नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ । प्रहरीले विलविजक भन्दा बढीको सामान सहितको ट्रक र ट्याक्टर नियन्त्रणमा लिएपछि भन्सार कर्मचारीकै मिलेमतोमा सामानहरु पास हुने गरेको आशंकालाई पुष्टि गर्ने थप आधार बनेको छ ।

किनभने प्रहरीले बेरिङ्ग सहितको ट्याक्टर एकीकृत भन्सार जाँचौकी (आईसीपी) बाट निस्किएपछि नियन्त्रणमा लिएको हो । जेठ १ गते वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. २५ चण्डालचोक स्थित सडकखण्डबाट बिआर ०५ जीए १९४६ नम्बरको भारतीय ट्याक्टरलाई रोकेर जाँच गर्ने क्रममा विल विजक भन्दा बढी बेरिङ्गहरूलोड फेला पारेको थियो ।

उक्त विल बिजक शंकास्पद देखिएपछि प्रहरीले ट्याक्टर सहितको १८ लाख २२ हजार ३४७ रुपैंया मूल्यांकन गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो । त्यस्तै बिल विजक भन्दा बढी विभिन्न किसिमका मोबिल लगायतका खुद्रा सामनहरु बोकेको माल बाहक कन्टेनर पनि प्रहरीले जेठ २ गते नै वीरगन्ज महानगरपालिकाको वडा नम्बर १६ रेलवेलाईन को बुखार चोकबाट नियन्त्रणमा लिएको थियो ।

वीरगञ्जबाट नारायणघाट तर्फ जाँदै गरेको ना.३ ख ७७४१ नम्बरको मालवाहक ट्रक रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक शंकास्पद देखिएको हुँदा नियन्त्रणमा लिएर थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक गिरीले बताउनुभयो । वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विदुर शिवाकोटीको नेतृत्वमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको ट्रक सहितको मूल्य अन्दाजी ६३ लाख बराबरको रहेको अनुमान गरेको छ ।

वडा प्रहरी कार्यालय वीर्ताले सोही दिन वडा नं. ४ रेल्वेरोड स्थित सडकखण्डबाट ना.३ ख ६९९ नम्बरको मालवाहक कन्टेनर ट्रकमा पनि प्रहरीले विलविजक शंकास्पद रहेको आशंकामा रोकेर जाँच गर्ने क्रममा विल विजकभन्दा बढी मालबस्तुहरूलोड रहेको पाईएको जनाएको छ । उक्त विल बिजक पनि शंकास्पद देखिएकोले ट्रक र सामान सहितको ५८ लाख बराबरको कन्टेनर र सो कन्टेनर भित्र लोड रहेको हार्डवेयर तथा विभिन्न किसिमका खुद्रा सामानहरु नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कारवाहीको राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।

सामान सहितका ट्रकहरु प्रहरीले नियन्त्रणमा लिएको लोकेशनहरुले पनि भन्सार कर्मचारीहरुकै मिलेमतोमा नै सामानहरु भित्रिने गरेको तथ्य पुष्टि गर्ने आधार बलियो छ । किनभने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मातहत रहेको राजस्व अनुसन्धान कार्यालयले कायान्वयनमा ल्याएको भीसीटिएस प्रणालीले सामान लोड गरेर हिड्न शुरु गरेपछि ट्रयाकिङ्ग शुरु गर्छ ।

सामान पठाउने व्यक्तिले मालवाहक ट्रकका चालकलाई भीसीटीएस प्रणालीमा जोडिएको कागज दिनुपर्ने हुन्छ । यदि भीसीटीएस गरिएको कागज सहितको लोड भएको सामान विल विजक भन्दा बढी कसरी हुन्छ ? किन हुन्छ ? यो प्रश्नले पनि भन्सार कार्यालयका कर्मचारीहरु र तस्करहरुबीचको मिलेमतो हुने गरेको र राजस्व छलेर सामान तस्करी हुने गरेको प्रष्ट हुन्छ ।