नेपाल प्रेस युनियन पर्साको अध्यक्षमा चौहान विजयी
वीरगन्ज, २ जेठ । नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन प्रेस युनियन पर्साको अध्यक्षमा विजय चौहान विजयी हुनुभएको छ । सोमबार सम्पन्न युनियनको १० औं जिल्ला अधिवेशनको बन्दसत्रमा भएको निर्वाचनमा चौहान विजयी हुनुभएको हो । चौहान सहित क्रान्ति साह, अलि असगर देवान र लालकिशोर सिंह चारजना अध्यक्षका आकंक्षी थिए ।
क्रान्ति साहलाई खुलातर्फको उपाध्यक्ष र अली असगर देवानलाई समावेशी उपाध्यक्ष निर्विरोध चयन गरेपछि चौहान र सिंहबीच सहमति जुट्न नसक्दा निर्वाचनमा जानु परेको थियो । ४९ जना कूल सदस्य संख्या रहेको युनियनको निर्वाचनमा ४५ जना सदस्यले मतदान गरेका थिए । त्यसमध्य २३ मत चौहानको पक्षमा परेको थियो भने १८ मत सिंहको पक्षमा परेको थियो ।
चौहान ५ मतले विजयी हुनुभएको प्रमुख निर्वाचन अधिकृत रामाशिष यादवले जानकारी दिनुभयो । युनियनको सचिवमा इरफान अलि, कोषाध्यक्षमा कपिलदेव यादव, सहसचिवमा आरजु देवकोटा पनि निर्विरोध चयन भएका छन् । यसअघि अधिवेशनको खुला सत्रको उदघाटन नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले गर्नुभएको थियो ।
उदघाटन सत्रमा बोल्दै मन्त्री रिजालले देशमा भएको भ्रष्टाचार विरुद्ध सञ्चारकर्मीहरुको कलम अझ धेरै चल्नुपर्ने बताउनुभयो । उहाँले अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीहरुलाई कारवाही गर्नुपर्ने जनदबाव बढेको र सञ्चारक्षेत्रले पनि त्यसलाई निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । उहाँले शरणार्थी प्रकरणको भ्रष्टाचार एमालेको पालादेखि शुरु भएको समेत बताउनुभयो ।